0 COMMENTS

वि.सं. २०७६ आषाढ १५ गते आइतबार तदनुसार ई. सं. २०१९ जुन ३० तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : असारको पन्ध्र (दहीचिउरा खाने दिन), रवि प्रदोष व्रत, त्रिपुष्कर योग बिहान ०४ बजेर ०१ मिनेटसम्म, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आषाढ कृष्णपक्ष (तछलागा) त्रयोदशी तिथि, मध्यरात्रीपछि ०३:२८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, कृतिका नक्षत्र, बिहान ०८:४७ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), शूल योग, साँझ ०७:३६ बजेसम्म, त्यसपछि गण्ड योग, सुरुमा गर करण दिउँसो ०३:४४ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०३:२८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी ३१ पला (१३ घण्टा ४८ मिनेट, रात्रीमान : २५ घडी २९ पला (१० घण्टा १२ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०५:१८ देखि ०७:०१ सम्म, यमघण्ट : दिउँसो १२:०७ देखि ०१:५१ सम्म , गुलिक काल : दिउँसो ०३:३४ देखि ०५:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:५१ देखि ०३:३४ सम्म, अमृत वारवेला : बिहान १०:२४ देखि १२:०७ सम्म, लाभ वारवेला : बिहान ०८:४० देखि १०:२४ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । विद्यार्थीहरूको तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने दिन छैन । गृहिणीहरूको विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको चाप बढ्ने दिन हो । प्रायः सबैले छरछिमेकीको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । पुरानो लेनदेनका कारण विवाद हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । गृहिणीहरूलाई पारिवारिक सुख मिल्नेछ भने छात्रछात्राले अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । प्रायः सबैको आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुने दिन छ । विद्यार्थीहरूको मानसिक एवं बौद्धिक क्षमताको कदर हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रायः सबैले जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ । त्यस्तै श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन, घरमा अतिथिको आगमन हुनसक्छ । सार्वजनिक हीत र परोपकार क्षेत्रमा लगानीको समय छ, गृहिणीहरू दानपुण्यका काम र सामाजिक क्रियाकलापमा रमाउने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । प्रायः सबैको आत्मबल बढ्ने समय छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारका कामधन्दामा सधैंभन्दा बढी खट्ने समय छ । मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । कर्मचारी र व्यवसायीको नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुने दिन छ, दिन बितेको पत्तो पाइँदैन । प्रायः सबैको आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । गृहिणीहरूले मान्यजनको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा भनेजस्तो अनुकूलता देखिंदैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना श्रममूलक कामले अल्मल्याउन सक्छ । नयाँ कामप्रति मनमा धारणा पलाए पनि कार्यान्वयन नगर्नु नै बेस हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ, आज आलस्य गरेर समय खेर फाल्नु राम्रो होइन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आयुक्षेत्रमा चन्द्रमा छ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा कतै घरबाहिर जानु पर्ने हुनसक्छ, वा वैदेशिक प्रयोजनका काममा दिलचस्पी बढ्न सक्छ । छात्रछात्राले कडा मिहिनेत र लगशीलतापछि सफलता पाउने दिन हो, त्यस्तै व्यवसायीहरूले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छिटो प्रतिफल आउने काममा हात नहाल्नु राम्रो हुनेछ । पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । प्रेमी/प्रेमिका वा जीवनसाथीका विचारको अनुसरण गर्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज खासगरी छात्रछात्रा र अध्येताको तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । प्रायः सबैले अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्घर्ष र प्रतिस्पर्धामा दौडधूप गर्दागर्दै आजको दिन सजिलै बित्ने सङ्केत छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुःख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । छात्रछात्राले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउने छन् । आज रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । व्यवसायीले दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । गृहिणीहरूको इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । आज सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सबैले संयम हुँदै धार्मिक/सामाजिक काममा खट्ने समय छ । गृहिणीहरूले घरायसी कामधन्दाका लागि खट्नु पर्ने समय हो, आफन्त र सन्ततिले कुनै काममा पनि सहयोग गर्ने लक्षण देखिंदैन । छात्रछात्राको मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढ्ने छ, सचेत हुनुपर्छ, पठनपाठन प्रभावित बन्नसक्छ । उता रोमान्स र प्रेमप्रसङ्गबाट हीनताबोध हुनसक्छ । कामदारहरूमाथि दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना पनि छ । बन्दव्यापारमा अलि बढी समय दिएमा मात्र लाभ लिन सकिने छ । दूरदराज वा विदेशमा भएका आफन्तजनसँग भने भलाकुसारी गर्न पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ काम सुरु गर्ने समय छ । बन्दव्यापारबाट मनग्ये धनलाभ हुनेछ । साथीभाइको राम्रो सरसहयोग जुट्न सक्छ । छात्रछात्राले नयाँ विषयको ज्ञान लिने वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रायः सबैको रोकिएका काम पुनः सुरु हुनसक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने दिन हो, अनि खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट अचानक धन प्राप्त हुनसक्छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।