काठमाडौं ०९ असार। भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्।
‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ’, नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सय करोडभन्दा बढी हिन्दू आबादी भएको भारतका बासिन्दा पनि यही चाहन्छन्।’
हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ छ। ‘नेपाललाई हिन्दू राज्य बनाउँदा यसको आफ्नै छुट्टै पहिचान बन्न सक्छ,’ उनले भने, ‘बेलायतले हामीलाई सेक्युलर (धर्म निरपेक्ष) बनायो। बेलायतका प्रधानमन्त्री वा कुनै पनि पदाधिकारीले बाइबल छोएर शपथ लिन्छन्। तर त्यही सेक्युलारिज्ममा हामीलाई गीता छोएर शपथ खान दिइन्नँ।’ नेपालको सिमाना जोडिएको राज्यका मुख्यमन्त्री आदित्यनाथले हिन्दू राज्यको वकालत गर्दै आएका छन्।
भारतका बहुसंख्यक हिन्दू धर्मावलम्बी पशुपतिनाथ मन्दिर र मुक्तिनाथमाथि ठूलो आस्था राख्ने भन्दै नेपालले धार्मिक पर्यटनबाट ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ। ‘दक्षिण भारतका हिन्दू मुक्ति प्राप्त हुने विश्वासमा मुक्तिनाथ मन्दिर जान्छन्’, उनले भने, ‘हामीकहाँ पशुपतिनाथ मन्दिर जानैपर्ने धार्मिक मान्यता पनि छ।’
योगी आदित्यनाथको वास्तविक नाम अजय सिंह विष्ट हो। उत्तराखण्डका योगीले गढवाल युनिभर्सिटीबाट बीएससीसम्मको अध्ययन पूरा गरेका थिए। गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथले उनलाई दीक्षा दिएर योगी बनाएका थिए।
अवैद्यनाथले सन् १९९८ मा राजनीतिबाट संन्यास लिएपछि आदित्यनाथलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। सन् १९९८ को लोकसभा चुनावमा २६ वर्षको उमेरमा नै उनी सांसद बनेका थिए। उनी गोरखपुरबाट पाँचौ पटक सांसद बनेपछि मुख्यमन्त्री बनेका थिए।
उनले हिन्दू युवा वाहिनी गठन गरेर धर्म परिवर्तनविरुद्ध अभियान नै थालेका थिए। उनी विवादित बयानका कारण पनि चर्चामा आइरहन्छन्। उनी मुख्यमन्त्री भएपछि गोरखपुरलगायत उत्तर प्रदेशका धेरै ऐतिहासिक स्थलका नाम फेरेका थिए। गोरखपुरको उर्दू बजार हिन्दी बजारमा र अलीनगरको नाम फेरिएर आर्यनगर बनाइएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।