0 COMMENTS

वि.सं. २०७६ आषाढ ०८ गते आइतबार तदनुसार ई. सं. २०१९ जुन २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : त्रिपुष्कर योग राती १० बजेर ३७ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, आषाढ कृष्णपक्ष (तछलागा) षष्ठी तिथि, बेलुका ०९:३१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, शतभिषा नक्षत्र, बेलुका १०:३७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, बेलुका ०९:०५ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा गर करण बिहान ०८:३० बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०९:३१ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमासूर्योदय : बिहान ०५:११ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०५:१७ देखि ०७:०१ सम्म, यमघण्ट : दिउँसो १२:०६ देखि ०१:५० सम्म, गुलिक काल : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म, आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–शुभ वारवेला : दिउँसो ०१:५० देखि ०३:३३ सम्म, अमृत वारवेला : बिहान १०:२२ देखि १२:०६ सम्म, लाभ वारवेला : बिहान ०८:३९ देखि १०:२२ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलि कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त पनि जुरेको देखिंदैन । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सोचेभन्दा राम्रै फाइदा हुनेछ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । आतिथ्यपूर्ण सम्मान पाइएला । गृहिणीहरूको दिन मनोरञ्जनपूर्ण रहनेछ । छात्रछात्रामा पठनपाठनमा जाँगर चल्ने दिन रहने छ, अनि नयाँ ज्ञान प्राप्त गर्ने मौका छ । व्यापारी व्यवसायीहरूका लागि आम्दानी प्रशस्तै बढ्नेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा पनि हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने दिन छ, विद्यार्थीहरूका लागि उत्तम समय देखिन्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने दिन छ, विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । तत्काल सामान्य उपलब्धि प्राप्त भए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । खासगरी छात्रछात्राले सँगीसाथी र सहयोगीको मद्दतले बिर्सिसकेको वा नजानेको कुनै विषयमा ज्ञान लिने समय छ । अन्य सबैका लागि रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ । गरेको कामले प्रशंसा पाउने छ । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूले विशेष फाइदा लिन सक्नेछन् । रुचिका विषयमा लगानी बढाउन अनुकूल समय छ । सामाजिक उत्तरदायित्वको जिम्मेबारी लिनु पर्नेछ । सामाजिक र परोपकारी काममा श्रम तथा बुद्धिको उपयोग हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । छात्रछात्रा र किशोर उमेरका व्यक्तिहरूमा महत्वाकाङ्क्षा हाबी हुने तर काम नबन्ने समय देखिन्छ, कुनै गर्नैपर्ने काम भए योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सोख पूरा हुनुका साथै विभिन्न अवसर पाइने समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिने छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुनसक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बन्नाले निकै उत्साहित भइनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । प्रेमी/प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खराब समय छ । परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । समयमा होस नपुग्नाले बन्नै लागेको काम बिग्रन सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समयको गतिलाई अनुसरण गर्ने आँट र हिम्मत पलाउने छ । नयाँ भौतिक साधन जोहो गर्ने वातावरण बन्नेछ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । घरायससी र दाम्पत्य सम्बन्धमा सुमधुरता प्राप्ति हुनेछ । कृषि, पशुपालन एवं श्रमसाध्य कामबाट लाभ हुनेछ । प्रतिस्पर्धाबाट लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनस्थानमा रहेको चन्द्रमा बलियो छ । त्यसैले आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनमा उत्साह, उमङ्ग र चञ्चलता देखिने छ । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनसक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् भने सहयोगीहरूको साथ पाइने छ । जस्तोसुकै चुनौती पन्छाउन सकिने छ । समस्या र बाध्यतामा अलमलिंदा मन रमाउने छ । यत्नपूर्वक गरेको कामबाट सोचेको परिणाम दिलाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छरछिमेकमा असमझदारी बढ्ने योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।