काठमाडौं, ३ जेठ । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए । निर्णयकर्ताहरुको निर्णयलाई बेवास्ता गरि आयोजक पूजना प्रधानले एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् ?
भन्दै उनीहरुले प्रश्नसमेत तेर्साएका छन । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘७ जना निर्णयकर्तामध्येबाट पनि ३ जनाको निर्णयलाई हामी आमाहरुसमक्ष किन ल्याईएन ?’ आएका निर्णयहरुपनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुको दाबी छ । आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखे । आयोजक प्रधान र उनकी आमाले उक्त
प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागीमध्येकी एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताजसमेत फिर्ता गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकको तर्फबाट महिलाहरुको भावनामाथि खेलबाड गर्ने प्रयास भयो । हामीहरुलाई
सौन्दर्यको वस्तु बनाईयो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’
शर्माले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयलाई समेत अवमूल्यमन गरेको गुनासो पोखिन् । उनले थपिन्,‘निर्णर्यकर्ताहरुको
निर्णयलाई लुकाइएको कुरा हामीसँग प्रमाण सुरक्षित छ । अहिलेसम्म सायद नेपालमै यस्तो धाँधली र पूर्व सुनियोजित तवरले प्रतियोगिता भएको छैन होला । आखिर, पूर्व तयारीअनुसार नै विजेता बनाउने हो भने प्रतियोगिताको आयोजना गर्नुको के महत्व हुन्छ ?
शर्माले आफूहरु आयोजकबाट ठगिएपनि अब आईन्दा आफूहरुजस्तै अरु आमाहरु नठगियुन भन्ने हेतुले बाध्य भएर आफूहरुले आयोजको ज्यादती र मनोमानीको भण्डाफोर गरेको स्पष्ट पारिन् ।
पुजना प्रधानले आफूहरुजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् ।
श्रेष्ठले भनिन्,‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्छ ।’
प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै
कार्यक्रममा सहभागी गराई सम्पूर्ण निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीहरुले देखेको कुरा पनि पुष्टि हुने उनीहरुको दाबी छ ।
उक्त कार्यक्रममा बोलाईएका संचारमाध्यम र फोटोग्राफरलाई मन परेका प्रतियोगीहरुलाई मात्र अग्रसर गराई पक्षपात ढंगले उनीहरुमाथि मात्रै केन्द्रित गरिएको पनि उनीहरुको गम्भिर आरोप छ । त्यस्तै, फोटोजेनिक हुनै नसक्ने प्रतियोगीलाई फोटोजेनिक अवार्ड दिईएको उनीहरुको अर्को गम्भिर आरोप छ । जारी विज्ञप्तीमा थप भनिएको छ,‘पुजना प्रधानले आफ्नो हिट्लर शैलीमा हामी सोझा साझा माहरुलाई प्रयोग गरि उनको आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन हामीलाई किन प्रयोग गरियो ?’
एक्काईसौं शताब्दीमा पनि महिलाले महिलाहरुमाथि यति शोषण गर्ने घरभित्रका आमाहरुलाई शसक्त बनाउने बहानामा उल्टै आर्थिक र सामाजिक शोषण गर्ने सौन्दर्यको प्रदर्शन गराई आफूहरुको आत्मासम्मानमा नै आँच आउने काम गर्ने व्यक्तिलाई कानूनी कठघरामा उभ्याई कारबाही गर्नुपर्नेपनि उनीहरुको माग छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागी अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको आरोप लगाईन । त्यस्तै, उनले शीर्ष दशभित्रपनि आउन नसक्ने प्रतिष्पर्धी एमी कमार्चार्यालाई फष्ट रनरअप र बाला राईलाई तेस्रो विजेता बनाईएको दाबी गरिन् ।
सम्पूर्ण निर्णयकर्ताहरुको निर्णय आफूहरुलाई दिन नसकेको र आएको निर्णयहरु पनि केरमेट भएकोले आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै प्रतियोगितामा
लागेको सम्पूर्ण खर्च आयोजकले फिर्ता दिनुपर्ने उनीहरुले माग गरे । प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त
रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।