0 COMMENTS

काठमाण्डाै२१बैशाख/ नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा  “जनता आवास” (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ति तयारीका साथ तैनाथ भएकोमा आज२१ गतेबाट औपचारिक रुपमा माननीय उपप्रधान एवं रक्षामन्त्री  ईश्वर पोखरेल, मन्त्रीगण लगायत प्रदेश नं.२ का मुख्यमन्त्री  लालबाबु राउतबाट शिलान्यास भई शुभारम्भ भएको छ ।

“जनता आवास” कार्यक्रमको क्रममा फेटा गाउँपालिका- ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री  पोखरेलले, परवानीपुर- ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री  उपेन्द्र यादवले, प्रसौनी गाउँपालिका- ४ खटुवाजग्दीमा गृहमन्त्री  राम बहादुर थापाले, बीरगञ्ज महानगरपालिका- २२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री  वर्षमान पुनले, सुवर्ण गाउँपालिका- ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रघुवीर महासेठले, पचरौता नगरपालिका- ७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री  लालबाबु पण्डितले, फेटा गाउँपालिका- ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रीमती थममाया थापाले, बीरगञ्ज महानगरपालिका-५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री श्रीमती बिना मगरले, फेटा गाउँपालिका- ४ भरवलीयामा सहरी विकासमन्त्री  मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका- ७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रीमती पद्मा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका- १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका- ७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री श्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गर्नु भएको थियो ।

 हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भईरहेका छन् । तीन चरणमा सम्पन्न गरिने उक्त”जनता आवास” कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा ४८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ । उक्त निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ ।

शुभारम्भको क्रममा माननीय उपप्रधान एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो । सोही अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री  राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै बलाध्यक्ष रथी  गौरव तण्डुलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।