0 COMMENTS

काठमाण्डाै१०बैशाख/ २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात आज वैशाख १०गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति  विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात तल्ला भवनको समुद्‌घाटन गर्नु  भएको छ ।

 नेपाल सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको मिति २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भएको थियो । नवनिर्मत भवनमा क्यूविकलसहित ४३० कोठाहरु, विभिन्न प्रयोजनका ३१ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहनेछन् । आवश्यकताअनुसार, छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको छ ।

 कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत  सुशील ज्ञवालीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । भवन निर्माण सम्बन्धी जानकारी प्राविधिक उपरथी श्री योगेन्द्र बहादुर खाँणले गराउनु भएको थियो । मन्तव्य पश्चात सम्माननीय राष्ट्रपतिबाट उक्त भवनको निरीक्षण समेत भएको थियो ।

वि.सं.२०१६ सालमा हाल सैनिक मुख्यालय रहेको स्थानमा जङ्गी अड्डा भवनको निर्माण भएको थियो ।२०७२ सालमा आएको विनासकारी भुकम्पबाट नेपाली सेनाका जङ्गी अड्डा भवनलगायत ११०९ वटा भौतिक संरचना क्षति भएका थिए । जसमध्ये आंसिक रुपमा क्षति भएका ६९७ वटा भौतिक संरचनाहरुको प्रवलिकरण भएको, पूर्णरुपमा क्षति भएका ४१२ भवन मध्ये उच्च प्राथमिकतामा रहेका ५७वटा नयाँ निर्माण सम्पन्न भई सकेको, १६ वटा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको र अन्य बाँकी भौतिक संरचनाहरु प्राथमिकताको आधारमा आगामी वर्ष निर्माण गर्ने योजना रहेको छ ।

 समुद्‌घाटन समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रतिनिधि सभाका सभामुख, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष, माननीय मन्त्री गण, माननीय प्रदेश प्रमुख, सचिवहरु, पूर्व प्रधानसेनापति, नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरु र सरकारी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।