0 COMMENTS

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताएका हुन् । उनले भने आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गरे । उनले चिकित्सकसंग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उनको भनाई थियो । उनले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ्नसमेत आग्रह गरे ।

उनले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साए । उनले भने,‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन् । पहिले संविधान पढ्नुहोस् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन् ।’ सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भने,‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ्नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस्, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’

सरकारी चिकित्सकहरुले नेपाल मेडिकल एशोसिएशनलाई गुहार्नु भनेको उनीहरुको अपरिपक्वता भएको पनि मन्त्री यादको आरोप छ । उनले भने,‘म आँफै गोदानका चार वटा डाक्टरहरुलाई लिएर संघीय मामिलामन्त्री लालबाबु पण्डितको घरमा पुगें, मेरो मन्त्रालयका सचिवलाई पनि साथै लिएर गएको थिएँ । उहाँरुसँग डिसिजन गर्ने क्षमता त हुनुपर्छ ।’ अहिलेसम्म चिकित्सकहरुले खाईपाई आईरहेको सेवा तथा सुविधा र वृद्धिविकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उनले सुनाए । उनले चिकित्सकहरु संघीय सरकार अन्तर्गत भर्ना भएपनि संविधानअनुसार तीन तहमा जान गाह्राे नमान्न पनि आग्रह गरे । मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उनले जनाए । उनले अब सरकारी अस्पतालमा सुधारको संकेतहरु देखा परेको पनि दाबी गरे ।

त्यस्तै मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनको असर सरकारी अस्पतालमा नपरेको दाबी समेत गरे । उनले भने,‘मैले त हिजोमात्रै थापालीस्थित् प्रसुति गृहमा पुगेर चिकित्सक को–को अनुपस्थित् छन् भनेर सोध्दा कोही पनि अनुपस्थित् भएको पाईएन् । हामीले अस्पतालको निरन्तर अनुगमन गरिरहेका छौं ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।