0 COMMENTS

काठमाडौं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानबिनको क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार
पारेको स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता सापकोटाले यस्तो बताएका हुन् । उनले भने,‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्नेगरि नै
प्रतिवेदन ल्याएका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले यो प्रकरणको उजागरणसँगै मुलकमा बहु–आयामिक भ्रष्टाचारको रहस्योद्धघाट्न भएको सुनाए । उनले भने,‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ । एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन् ।’ प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा
व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनको टिप्पणी छ । उनले भने,‘भू–माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो ।

मुलुकमा अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ।’ उनले आफूहरुले तारागाउँ होटेलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए । उनले भने,‘भ्रष्टाचारको नियन्त्रण गर्नुपर्छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्छ ।’ उनले हतपत कुनै जिम्मेवारी नलिने र लिएपछि त्यसलाई पूरा गरेरै छोड्ने आफ्नो स्वभाव रहेको सुनाउँदै भने,‘जिम्मा लिएपछि त्यसलाई राम्रोसँग पूरा गरेर छोड्ने स्वभाव छ । यो केशमा पनि मैले त्यही गरें ।’ सापकोटाले छानबिनको लागि आफूहरुले पटक–पटक गरि १४ वटा बैठक गरेको पनि सुनाए । उनले भने,‘यो १४ महिनाको अवधिमा हामीले औपचारिक तथा अनौपचारिक रुपमा धेरैपटक छलफल गर्यौं, सर्वोच्च अदालत, उच्च अदालत र विशेष अदालतका पूर्व न्यायाधीशहरु, कानूनविद् तथा विज्ञहरुसँग सयौं पटक छलफल गर्यौं ।’

यद्धपी उनले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट नै सहयोग नपाएको गुनासो पोखे । उनले भने,‘हाम्रो विज्ञ पनि भएनन् । छानबिनको क्रममा हामीलाई विज्ञको अभाव भयो ।  तत्कालीन तारागाउँ विकास समितिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझावसहितको प्रतिवेदन आफूहरुले
बुझाईसकेकोले अब सरकारले सोहीअनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे । उनले भने,‘ह्यात होटेल व्यवस्थित् छ, होटेलको सम्पत्ति दिनदिनै बढिरहेको छ । तर, सरकारको सम्पत्ति घट्दैछ । ३०४ रोपनी जग्गा क्षतविक्षत बनाइएको छ ।’ उनले लिज सम्झौतापनि गैरकानूनी ढंगले गरेको पाएपछि त्यो रद्द गर्न आफूहरुले निर्देशन दिईसकेको स्पष्ट पारे । उनले भने,‘समग्र प्रक्रियामा प्रपञ्च मिलाइएको रहेछ । दिमाग चकराउने कागजपत्र मिलाईएको रहेछ ।

लिज सम्झौतापनिनेपालीमा एक खालको छ । अनि अंग्रेजीमा अर्कै खालको छ ।’ हरेक कुरामा कर्पोरेट शैलीमा जालझेल र छलछाम गरिएको उनले जिकिर
गरे । आफूहरुले १४ बुँदे निर्देशन दिएको पनि उनले सुनाए । तीमध्ये ८ वटा बुँदामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई दिएको उनले स्पष्ट पारे । उनले भने,‘हामीले पर्यटन मन्त्रालयले के गर्ने ? भूमि सुधार मन्त्रालयले के गर्ने र अर्थ मन्त्रायलयले के गर्ने भन्नेबारे क्याटेगोरी नै छुट्टाएर निर्देशन दिएका छौं ।’

छानबिनको क्रममा आवश्यक कागजपत्र माग्दा अर्थमन्त्रालयले यो धेरै वर्ष पूरानो कुरा हो र यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको भन्दै उनले गुनासो पोखे । उनले भने,‘हाम्रो सरकारी निकाय जिम्मेवार छैनन् भन्ने कुरा यसले देखाएको छ ।’ भू–माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी
रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको सुनाए ।

उनले भने,‘होटेल ह्यात रेजेन्सी तालुकको अड्डा र तारा गाउँ विकास समिति चाहीँ त्यसको अंगजस्तोगरि कतिपय सम्झौता भएका छन् । यो देखेर अचम्म लाग्यो । यो त प्रतिनिधि घट्नामात्रै हो । पोखराको सरकारी जग्गाको कुरा थाहा पाईहाल्नुभएको छ । नेपालगञ्जको त्यस्तै छ । जताततै भ्रष्टाचारले गाँजेको छ ।’

शारदा प्रसाद त्रिताल आयोग र आफूहरुको उपसमितिले सरकार र अख्तियारलाई नै सहयोग पुग्नेगरि प्रतिवेदन बाहिर ल्याएको उनको जिकिर छ । उनले भने,‘सरकारले अब धमाधम कारबाही गर्नुपर्छ । र, जतालाई जानकारी गराउनुपर्छ ।’ आफू नेतृत्वको उपसमितिले समितिका नाममा विभिन्न स्थानमा रहेको सम्पत्तिको संरक्षण र सदुपयोगको सन्दर्भमा अध्ययन, अवलोकन भ्रमण तथा सम्बद्ध निकाय एवं पक्षबाट प्राप्त भएका कागजातका आधारमा निष्कर्ष
निकालेको सापकोटाको भनाई छ ।

उनले आफूहरुले प्रतिवेदनमात्रै नबुझाएर समाधानको उपायपनि सुझाएको स्पष्ट पारे । फरक प्रसँगमा उनले आफूलाई यो प्रकरणमा दबाब पनि आएको सनसनीपूर्ण खुलासा गरे । उनले भने,‘पूर्व भूमिसुधार मन्त्री जितु गौतममार्फत मलाई दिनेशलाल श्रेष्ठले भेट्न खोजेको प्रस्ताव आएको थियो । मैले उपसमितिमा आउनुहोस् म बैठकको व्यवस्था गरिदिन्छु भनें । तर, पछि उहाँहरु आउनुभएन् ।’

बडे–बडे शक्ति केन्द्रबाट पनि आफूलाई प्रभाव पार्नको लागि दबाब आएको उनले जिकिर गरे । उनले भने,‘कसैले परिवारमार्फत नै दबाब दिए । कसैले शक्तिकेन्द्रमार्फत दबाब दिए । कसैले त यीनीहरुको ठूलो पहँुच छ, देश तथा विदेशमा पहँुच छ भनेरपनि भने । तर, हामी कसैको प्रभाव र दबाबमा परेनौं । देशको हितमा काम गर्यौं । हामीले आग्रह र पूर्वाग्रहमा राखेर छानबिनमा हात हालेका हैनौं ।’

देशलाई केन्द्रमा राखेर र तथ्यमा आधारित भएर सत्य खोज्ने प्रयास गरेको र सोहीअनुसार यो प्रकरणबारे प्रतिवेदन तयार पारेको उनको भनाई छ । उनले भने,‘म आज सन्तुष्ट छु ।’ फरक प्रसँगमा उनले पार्टी एकता पनि चाँडै टुँगो लाग्ने विश्वास दिलाए । उनले भने,‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ ।’

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्विकार गरेको पनि उनले सुनाए । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुँगो लाग्ने पनि उनले दाबी गरे । भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागिपरेको उनले जनाए । उनले भने,‘४६ महिना भयो, यो नाका बन्द भएको छ । अब यसलाई सुचारु गर्नुपर्छ ।’ तातोपानी नाका हरेक हिसावले बहुआयामिक महत्वको भएकोले यसलाई चाँडै सुचारु गराउन आफू लागिपरेको उनको भनाई थियो ।

सापकोटाले भने,‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपतिसँगपनि यो नाका खुलाउनको लागि प्रयत्न गर्नुभएको थियो । त्यतिवेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो । किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ । उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ । उहाँले यसमा मेरोपनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो ।’

नाका खोल्नको चीनतर्फबाट युद्धस्तरमा काम भैरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ । हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए । चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।