0 COMMENTS

हेटौँडा, चैत २०/प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता परेको जिकिर गरे ।तेस्रो लिङ्गीको संस्था निलहिरा समाजले मङ्गलबार हेटौँडामा गरेको प्रदेश नं ३ स्तरीय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गी आन्दोलनका अगुवाहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष पिङ्की गुरुङले यसअघि देशभरका २०० तेस्रो लिङ्गीले नागरिकतामा अन्य लिङ्ग उल्लेख गरेर लिएको भए पनि हालका दिनमा नागरिकताका लागि झन असहज हुँदै गएको बताइन् । सङ्घीय संसद्ले नागरिकतामा तेस्रो लिङ्गी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा साँघुरो सोचाइ राखेको उनको आरोप छ ।

उनले फौजदारी तथा देवानी संहिताले पनि तेस्रो लिङ्गीको अधिकारलाई खुम्च्याएको उल्लेख गरिन् । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिङ्ग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रो लिङ्गी भएको प्रमाणित गर्नुपर्नेलगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याउन लागेको जिकिर गरे ।

तेस्रो लिङ्गीको हकहितमा क्रियाशील फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रो लिङ्गी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैङ्गिकता जनाउने भावना भएकाले तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने उल्लेख गरेका छन् । सुरज थापाबाट डियर किरण बन्नु भएकी उहाँले तेस्रो लिङ्गी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताए ।

जन्मँदा छोरा भएर जन्मिएकी हेटौँडाकी अजिता भुजेलले तेस्रो लिङ्गी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताउँछन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले लैङ्गिक अल्पसङ्ख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणका लागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।