0 COMMENTS

नारायणपुर, १८ चैत / प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना गर्न थालिएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो । 

दाङ देउखुरी क्षेत्रमा दैनिक सडक दुर्घटना हुने घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा बुटवल लैजानुपर्ने बाध्यता छ । त्यो समस्यालाई समाधान गर्न ट्रमा सेन्टरको आवश्यकता महशुस गरिएको उहाँको भनाइ छ । ट्रमा सेन्टरका लागि स्थानीय तहले नेतृत्व लिन आवश्यक रहेको भन्दै प्रदेश र सङ्घीय सरकारले सहयोग गर्ने अर्का प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताउनुभयो । 

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले जग्गाका लागि लालपूर्जा नभएकै कारण ट्रमा सेन्टर स्थापना गर्ने कुरा रोकिन नहुने बताउनुभयो । प्रदेशसभा सदस्य सरस्वती गौतमले देउखुरीमा ट्रमा सेन्टर स्थापना गर्ने कुरा सकारात्मक रहेको भन्दै तीन तहकै सरकारबाट उत्तिकै पहल हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश नं ५ का स्वास्थ्य निर्देशक दिनेश चापागाईंले लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा एकिन भइसकेको जानकारी दिँदै डिजाइन तयार गरी गुरुयोजना निर्माण गर्ने कार्यमा लागिने बताउनुभयो । 

लमहीमा रहेको कृषि उपज बजार केन्द्रको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने बताइएको छ । राजमार्गसँग जोडिएको जग्गा भएकाले पनि हाल उद्यमशिल सहकारीले भोग चलन गर्दै आइरहेको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । 

ट्रमा सेन्टरको लागि कम्तीमा पनि एक बिघा क्षेत्रफलको जग्गा आवश्यक पर्ने उक्त स्थानको जग्गा उपयुक्त रहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना गर्न यसवर्ष रु दुई करोड विनियोजन गरेको छ । नगरपालिकाले ट्रमा सेन्टर स्थापना गर्ने विषयमा सर्वपक्षीय छलफलको आयोजनासमेत गरेको छ । छलफलमा प्रदेशसभा सदस्यहरु, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशक, छिमेकी गाउँपालिका गढवाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।