0 COMMENTS

काठमाडौं १८फागुन/ जन्मेपछि मृत्यु निश्चित हुन्छ। तर, मानिसको जीवनमा कहाँ पुग्दा, कुन घडी र कुन बचन अन्तिम हुन्छ, कसैलाई थाहा हुँदैन। त्यस्तै भयो, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाउने ७ जना नेपाली सपुतहरुका लागि। राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न क्षेत्रका सातलाई ताप्लेजुङ दुर्घटनामा देशले गुमायो।

दुर्घटनामा परी दिवंगत हुनेहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे थिए।

यीमध्ये सबैभन्दा लो प्रोफाइलका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे हुन्। अर्जुनबाहेक सबैको सामाजिक पहिचान प्रष्ट छ। सेनाको तल्लो दर्जाका जागिरे भएकै कारण अर्जुनको चर्चा छायाँमा पर्‍यो।

रामेछापको उमाकुण्ड गाउँपालिका (तत्कालीन गुम्बेल गाविस) को गुम्बेलगाउँमा पिता उद्योगबहादुर घिमिरे र आमा नीति घिमिरेको कोखबाट वि.सं. २०३९ साल जेठमा जन्मिएका स्व. अर्जुन घिमिरेका तीन जना भाइ छन्।

सामान्य किसान परिवारमा जन्मिएका अर्जुन १७ वर्ष १० महिना पहिला अर्थात् २०५९ साल जेठ १ गते नेपाली सेनामा प्रवेश गरेका थिए। अर्जुनकी श्रीमती शैलु घिमिरे गृहिणी हुन्। र, उनीहरुका एकमात्र छोरा १० वर्षीय अश्विन घिमिरे रहेका छन्।

अर्जुनसँगै काम गरेर अहिले अवकाश लिएका अरुण अधिकारी भन्छन्, ‘अर्जुन घिमिरे अत्यन्तै मिलनसार, आँखामा हालेपनि नबिझाउने खालका र अरुको दुःख देख्न नसक्ने, सहयोगी प्रवृत्तिका व्यक्ति थिए।’

अरुणले नेपाली सेनामा रहँदासम्म स्व. अर्जुनसँग अत्यन्तै मधुर सम्बन्ध रहेको स्मरण गरे। ‘अर्जुनको स्वभाव सबैसँग मिल्ने थियो,’ उनी भन्छन्, ‘राम्रो मान्छेलाई भगवानले पनि चाँडै उठाउँदा रहेछन्!’

निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका अर्जुनका आमाबुवा सामान्य किसान थिए। उनका बुवा उद्योगबहादुर घिमिरेको पनि १० महिनाअघि मात्रै निधन भएको थियो। अहिले दुर्घटना परी अर्जुनको पनि निधन भएपछि परिवार स्तब्ध छ।

शान्ति सेनाको मिशनमा गएर फर्किएपछि अर्जुनले काठमाडौंको कीर्तिपुरमा घर बनाएका थिए।अर्जुन नेपाली सेनामा रहेका एकदमै कम डीमाइनिङ विशेषज्ञमध्ये एक होनहार र तीक्ष्ण क्षमताका व्यक्ति रहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले बताए। ‘यो दु:खद दुर्घटनामा नेपाली सेनाले एउटा होनाहार डीमाइनिङ विशेषज्ञ गुमायो,’ ढकालले दु:खी हुँदै भने।

नेपाली सेनाको कालिप्रसाद गण इञ्जिनियरिङ विभागमा कार्यरत जमदार अर्जुनले भीभीआइपी सेक्युरिटी तालिम समेत लिएकाले गएको भदौ १० गतेबाट मन्त्री अधिकारीको सुरक्षामा खटिएका थिए। मन्त्री अधिकारीको अंगरक्षकमा खटिनुभन्दा पहिला उनी नेपाली सेनाको इञ्जिनियरिङ विभाग एयरपोर्टमा कार्यरत रहेको प्रवक्ता ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।