२०४६ साल पश्चात् नेपाललाइ आफु अनुकुलित प्रयोगशाला बनाउने रणनिती अनुरुप ईण्डो पश्चिमा र पश्चिमा शक्तिहरु अझ विशेष सकृय हुन थाल्यो। फलस्वरुप राजा सहितको बहुदलिय संसदलाई प्रयोग गरेर सर्वप्रथम खुला उदार अर्थ नितिको नाममा नेपालको अर्थ क्षेत्रमा आक्रमण गरे त्यो आक्रमणको ज्वलन्त उदाहरण राज्यको नियन्त्रणमा रहेको सफल उद्योग, व्यवसायहरुलाई निजिकरणको नाम दिएर ध्वस्त पार्दै नेपाललाई परमुखिकरण गर्दै देशको युवा शक्तिहरुलाई बेरोजगारी बनाउंदै बिदेसी गुलाम बनाउने षडयन्त्रको ढोका खोलियो जसको नेतृत्व नेपाली काँग्रेसले गर्यो।
त्यस्तै गरि एमालेको बलियो संगठित जनआधरमाथी चढेर नेतृत्व तहका नेता कार्यकर्ताहरुलाई ngo/ingo को लालिपप देखाएर मदन भण्डारीहरुलाई हैसियत अनुसार ठेगान लगाउँदै नेपाल र नेपालीको अस्तित्वको मेरुदण्ड मौलिक धर्मसंस्कृती र पहिचानहरुलाई अन्धविश्वास, कुरिती, विकृतिको उपनाम दिएर जनमानसमा भ्रम शृजना गर्न आरम्भ गरिईयो। अझ ०५२ साल पछि माओवादी जनयुद्ध सकृय र ससक्त हुँदै गर्दा बिस्तारै माओवादी नेतृत्वहरुलाई प्रलोभन र प्रभावमा पार्दै नेपाली मौलिक धर्मसंस्कृती, भाषा, राष्ट्रीय पहिचानमाथी ठाडो आक्रमण गर्दै जातिय विखण्डनको विषालु बिज हुर्काउँन सफल भए। यद्यपि दरवार(राजसँस्था) शक्ति केन्द्रको रुपमा खडा थियो जसको कारण नेपालभुमिलाई आफू अनुकुल प्रयोगशाला बनाउन चाहने शक्तिहरुको अभिष्ट पूरा हुन राजा बाधक बनेको ठाने। अत: वीरेन्द्र हत्याकाण्डदेखी बाह्रबुंदे सहमती हुँदै राजा ज्ञानेन्द्र सत्ताच्युतसम्मको घनचक्कर खेल उनै शक्तिकेन्द्रहरुको उपज हो भन्दा सायदै अतियुक्ती नहोला।
अन्तत: मिसन सफलोन्मुख हुँदै धर्म निरपेक्ष गणतान्त्रीक नेपाल बनाउन सफल भयो। तत्पश्चात नेपाली राजनेताहरु उन्मुक्त हुँदै गयो दल र दलहरुका उपल्लो नेतृत्वहरुले भाषण र दस्तावेजहरुमा जति सुन्दर शब्दहरु प्रदर्शन गरे पनि वस्तुत: व्यवहारमा उनिहरु वाह्य शक्तिकेन्द्रहरुको निर्देशन र ईच्छामा केवल भरिया, खेतलाका रुपमा काम गरिईए र गरिरहेछन। परिणामस्वरुप दण्डहीनता, भ्रष्टचार, तस्करी, अपराध र नाता, कृपावाद देशमा मौलाउँदै आयो। देशको महत्वपुर्ण अँगहरु व्यवस्थापिका, कार्यपालिका अनियन्त्रीत, अनैतिक बन्दै बदनामको शिखर चुम्न सफल हुँदै सम्मानित र भरोसाको केन्द्र न्यायलयका न्यायमुर्तिहरु समेत विवादमा तानिए।
अन्तत: देशका प्राय सबै अँगहरु बदनाम, दुषित, कलोषित र बिबादित बन्यो।तथापी नेपाल र नेपालीको भविष्यसँग गाँसिएको आम जनताको आशा र भरोसाको केन्द्र, देशको प्रमुख र अन्तिम सुरक्षा निकाय नेपाली सेनामा बिवाद पार्न नसकेको हो कि भन्ने देखिन्छ यद्यपि सेनामाथी पनि पटक पटक प्रहार गर्ने प्रयाशहरु गरेको पाईन्छ।
नेपाली सेनाको आफ्नै गौरवमय र गर्विलो ईतिहास छ जुन ईतिहास बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानसँग जोडिएर आएकोछ। समयको विविध कालखण्डहरुमा मिरकाशिम बिरुद्धको लडाई, कप्तान किनलोक बिरुद्ध पौवागढीको युद्ध, नेपाल अंग्रेज युद्ध, नेपाल तिब्बत/चीन युद्ध, र अन्तिम तिब्बत युद्ध होस या खम्पा निशस्त्रीकरण अभियानमा नेपाली सेनाले अदम्य साहस, वीरता र कौशलता प्रदर्शन गर्दै राष्ट्र, राष्ट्रीयताको गरिमा र गौरवलाई जोगाउदै आएको सबैमा जगजाहेर छ। त्यसरी नै पछिल्लो समय आन्तरिक समस्याको रुपमा उत्पन्न भएको शसस्त्र जनयुद्धलाई पनि अत्यन्त संयमता र सुझबुझकासाथ काल परिस्थितिलाई ध्यानमा राखेर अवतरण गराउन सफल भएको देखिन्छ। यदि नेपाली सेनाले जनयुद्धलाई युद्ध कै रुपमा लिएका थिए भने नेपालीले कल्पना पनि गर्न नसकिने परिस्थितिको जन्म पनि हुन सक्थ्योहोला।
भुकम्प, बाढी जस्ता अकल्पनिय प्राकृतिक विपदहरुमा सेनाले गरेका महत्वपुर्ण जनपृय कार्यहरुलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेको सत्य आज सबैसामु प्रष्ट नै छ।दक्षिण एसिया कै सबै भन्दा पुरानो सेना नेपाली सेना वि.सं १७४४ देखि स्वतन्त्र,सार्वभौम रहि आएकोछ जहाँ कहिले पनि कुनै पनि औपनिवेसिक शक्तिहरुलाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा महत्वपुर्ण उपलब्धी र सफलता हो।
नेपाली सेनाले आफ्नो गौरवमय बहादुरिता र वीरतालाई स्वदेसमा मात्र सिमित नराखी वाह्य युद्धहरु जस्तै भारतिय सीपाही बिद्रोह, प्रथम विश्वयुद्ध, वजिरस्थानको युद्ध, अफगान युद्ध, दोश्रो विश्वयुद्ध आदिमा पनि आफ्नो गरिमा र सौर्यलाई विश्व प्रशिद्ध बनाउन कुनै कसर राखेन। अन्तरराष्ट्रीय शान्ती स्थापनार्थ परिचालनमा नेपाली सेनाले भाग लिएका प्रमुख मिसनहरुलाई पनि पुन स्मरण गर्न उपयुक्त ठान्दछु।
* संयुक्त राष्ट्र संघ लेवनानका लागि अन्तरिम फोर्स (UNFIL)
* संयुक्त राष्ट्र संघिय सुरक्षा फोर्स ( UNOSOMII)
* यु.एन. अपरेसन मिशन सोमालिया (UNPROFOR)
* युनाईटेड मिशन हाईटी (UNMIH)
* संरासंघको लागि सियोरालियान मिशन (UNAMSIL)
* युनाईटेड मिशन इन सुडान (UNMIS)
* त्यस्तै the RCHQ, KASSALA, कंगो, रुवाण्डा, र सुडानमा पनि नेपाली सेना शान्तिस्थापनार्थ अहोरात्र सफलतापुर्वक खटे खटिरहेछ।
विकास निर्माणमा सेनाको सहभागिता
विगत केही समय यता विशेष गरि नेपाली सेनाप्रती जनताको आस्था घटाउने प्रकृतिको शिर्षकमा सेनाले गलत गरिरहेको छ भन्ने आशयकासाथ केही पुराना तथ्याँकहरुलाई प्रस्तुत गर्दै आईरहेको सबै सामु प्रष्ट छ। तर सेनाले आन्तरिक युद्ध या वाह्य युद्ध कालका समय बाहेक सहज परिस्थितिमा राज्य (सरकार)ले उपयुक्त ठानी सेनालाई विकास निर्माणका कार्य जिम्मेवारी दिन सक्ने प्रावधान छ कि छैन? सायद यस्तो प्रावधान भएर नै हुन सक्छ सरकारले सेनालाई सडक निर्माण, फाष्टट्र्याक जस्ता राष्ट्रीय गौरवका संरचनाहरु निर्माण गर्न जिम्मेवारी दिएको देखिन्छ। यदि यसो हो भने सेनाले आफ्नो जिम्मामा आएको कार्यलाई जसरी सम्पन्न गरे पनि त्यो उसको बिषय बन्न सक्ला तर सेनाले सम्पन्न गरेका कामहरुमा गुणस्तर छ कि छैन, तोकिएको समयमा काम सम्पन्न गर्यो कि गरेन, त्यसभित्र भ्रष्टचार, अनियमितता भयो कि भएन भनेर मुल्याँकन र खबरदारी गर्नु चाहिँ हरेक सचेत नागरिकको दायित्व हुन सक्छ र गर्नु पनि पर्छ। यतिखेर राज्यको ब्यवस्थापिका, कार्यपालिकाका सबै अँगहरुदेखी न्यायपालिकासम्म विवादमा तानिएर जनविश्वास घट्दै गैइरहेको अवस्थामा पप्पु कंस्ट्रक्सन जस्ता ठेकेदारहरुले गरिरहेका विकास निर्माणका ठेक्काहरु र सेनाले सम्पन्न गरेका ठेक्काहरु बीच पनि तुलनात्मक मुल्यांकन, सरोकारवालाहरुले गर्नु आवश्यक छ कि छैन?
जग्गा प्लटिङ्ग र ब्यापर
केही छापाहरुमा बेला बेलामा सेनालाई नीच देखाउन जग्गा प्लटिङ्ग र ब्यापरसँग जोडेर सकेसम्म बदनाम गर्ने प्रयाश गरेको देखिन्छ यद्यपि सेनाले जग्गा प्लटिङ्ग गरेर आम सर्वसाधरणलाई व्यापरिक उद्देश्य राखेर विक्री वितरण गरेको छ भने त्यो निश्चय नै गलत र अव्यवहारिक हुनेछ, अन्यथा सेनाले आफ्नै संगठनभित्रका बहालवाला, भुपु सदस्यहरुलाई सहुलियत र सहजताकासाथ विक्री वितरण गर्ने र सैन्य परिवारहरु कै हितमा कल्याणकारी प्रयोजनमा जग्गा प्लटिङ्ग योजना अघि सारेको छ भने त्यसमा पुर्वग्राही रुपमा निश्चित स्वार्थवस कसैले करोडौ नेपाली जनताको आस्थाको केन्द्र नेपाली सेनामाथि हिलो छ्याप्ने दुस्प्रयाश गर्छ भने त्यो निन्दनिय र आलोच्य छ। सेनाले सेना र सेनाका परिवारहरुलाई लक्षित गरि जनकल्याणकारी कोष संचालनार्थ विभिन्न ब्यवसायिक प्रयोजनका ब्यवसायहरु पनि शुरु गरेको देखिन्छ। ती कतिपय ब्यवसाय, ब्यापर(पेट्रोल पम्प)बाट सेनासँग मात्र सम्बन्धित नभै आम नागरिक पनि केही हदसम्म लाभान्वित भएको प्रष्ट देखिन्छ भने कतिपय ब्यवसायहरु सेनासँग सम्बन्धितहरु मात्र लाभान्वित भएका होलान तर यहाँ मुख्य प्रश्न र बिषय चाहि सेनाद्वारा संचालित ब्यापर ब्यवसायबाट आर्जित मुनाफा नै हुन सक्छ, त्यो आर्जित मुनाफा, लाभांसहरु सेनाका पदाधिकारीहरु या ब्यक्तिहरुले शेयर र बोनसको रुपमा ब्यक्तिगत प्रयोजनमा बाँडफाँड गरेका छन भने त्यसको बिरुद्ध निश्चय नै आवाज उठ्नु पर्छ, विरोध आउनु पर्छ अन्यथा प्रमाणिक तथ्यहरु बिना नै सिंगो राष्ट्रको गौरव र गरिमाको धरोहर संस्था नेपाली सेनामाथि आक्षेप र आरोप लगाउनु कतिसम्म उचित होला सबैको लागि यो सोचनिय बिषय हुनसक्छ।
तथापी सिंगो संगठन, संस्थालाई हामी मध्ये कै यहि समाज र संस्कारमा हुर्केका भिजेका ब्यक्तिहरुले नै नेतृत्व गर्ने हुन, गरिरहेकोछ यसर्थ संस्थाका ब्यक्ती सबै दुधले धोएका मात्र छन भन्ने बुझ्नु पनि गलत हुन सक्छ। विगतमा कतिपय ब्यक्ती विशेषहरु विवादमा नआएका भन्ने पनि किमार्थ होईन तर त्यस्ता गलत ब्यक्तिहरुलाई संस्थाले बेला बखत कारवाही गरेको पनि सुनिन्छ, सेनाको आफ्नै संरचनाभित्र दण्ड, सँजाय, कारवाही गर्ने निकाय भएको हुनाले गरेका पनि होलान, नगरेको भए पनि सेनाको नेतृत्वले त्यस्ता धमिराहरुलाई नष्ट पार्न कुनै तिथिमिति कुर्नु पनि हुन्न भन्ने आम सचेत नेपाली जनताको साझा आवाज पनि हो।
अन्तमा, कुनै पनि तह र तप्काबाट आम जनताको भरोसा र आशाको केन्द्र, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रीय एकताको रक्षाको प्रतीक नेपाली सेनालाई तथ्य र प्रामाणहिन आरोप र आक्षेप लागाउंदै संसदिय निगरानिमा राखेर दल र दलालहरुको कठपुतली बनाई नेपाली सेनालाई कमजोर बनाउने दुस्साहस नगरियोस भन्ने आम सचेत नागरिकको चाहना हो। साथै सेना र सेनाका नेतृत्व वर्गहरुले पनि अत्यन्त सुझबुझ र सजगताकासाथ सेनाको गौरवमय ईतिहासलाई जीवित र निरन्तर राख्नु पर्ने देखिन्छ।अस्तु: