धादिङ, २७ माघ/लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।