0 COMMENTS

काठमाडौं, माघ २० । सरकारले सार्वजनिक स्थानमा पासवर्डबिनाको वाइफाई राख्न नपाइने गरी मापदण्ड ल्याउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको सार्वजनिक स्थानमा राखिने निःशुल्क वाइफाईसम्बन्धी सुरक्षा मापदण्डको मस्यौदामा यस्तो व्यवस्था राखिएको छ ।

मापदण्डमा सार्वजनिक स्थानमा राखिने वाइफाईमा उपयुक्त लगइन हुनैपर्ने प्रावधान राखिएको छ । साथै लगइन गर्दा प्रयोग हुने डिभाइसको म्याक वा आईपी एड्रेसजस्ता पहिचान खुल्ने विवरण संग्रह गरेर राख्नुपर्ने प्रावधान पनि छ ।

सार्वजनिक स्थानको वाइफाई प्रयोग गरेर आपराधिक काम नहोस् भनेर यस्तो मापदण्ड तयार पारिएको प्राधिकरणले जनाएको छ । ‘निस्शुल्क वाइफाई प्रयोग गरी हुने कुनै अपराधको अनुसन्धानमा सहयोग पुगोस् भन्नका लागि मापदण्ड तयार पार्न लागेका हौं,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘अहिलेसम्म लग इन अनिवार्य गर्ने नगर्ने, डिभाइसको विवरण राख्ने नराख्ने भन्ने विषय सेवा प्रदायकमा निर्भर छ ।’

सार्वजनिक स्थानमा राखिने वाइफाई प्रयोग गर्ने डिभाइसको पहिचान खुल्ने गरी विवरण संग्रह गर्नुपर्ने व्यवस्था अनिवार्य पारिनेछ । ‘अहिले सार्वजनिक स्थानमा राखिने वाइफाई प्रयोग गर्ने डिभाइसको पहिचान खुल्ने विवरण जस्तै म्याक एड्रेस, आईपी एड्रेस संग्रह गर्नुपर्ने अनिवार्य छैन,’ उनले भने ।

एयरपोर्ट, अस्पताल, मल, पार्कजस्ता सार्वजनिक स्थानमा इन्टरनेट सेवा प्रदायक तथा सम्बन्धित निकायले वाइफाई सुविधा राख्ने क्रम बढेको छ । यस्ता वाइफाई निश्चित समय अवधि वा भोल्युमसम्म मात्रै उपलब्ध गराउनुपर्ने प्रावधान पनि मापदण्डमा समेटिनेछ ।

‘सार्वजनिक स्थानमा राखिएको वाइफाई कुनै डिभाइसमा प्रयोग गर्दा कुनै निश्चित समय अवधि जस्तै एक घण्टा, आधा घण्टाको लागि मात्रै दिनुपर्छ,’ उनले भने, ‘समय नभए निश्चित भोल्युमसम्मको डाटा जस्तै १० एमबी, २० एमबी, एक जीबी मात्रा तोकी उपलब्ध गराउनुपर्छ ।’

सार्वजनिक स्थानमा राखिएका निस्शुल्क वाइफाई प्रयोग गर्नेहरूलाई एसएमएसको माध्यमबाट एक डिभाइसमा एक पटकको लागि मात्रै पासवर्ड स्वचालित संयन्त्रबाट उपलब्ध गराउनुपर्ने प्रावधान पनि मापदण्डमा समेटिएको छ । सार्वजनिक स्थानमा राखिएका निस्शुल्क वाइफाई प्रयोग गर्नेहरूले मोबाइल नम्बर उपलब्ध गराउनुपर्ने व्यवस्था पनि मापदण्डमा तोकिएको छ । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।