0 COMMENTS

काठमाडौं, माघ १९ । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् ।

जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल चतरा बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा सुविधासम्पन्न मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो ।

शौचालयसहितको अत्याधुनिक सुविधासहितको एक सय यात्रु बोक्ने जहाज सप्तकोसी आइपुगेको छ । सिसा भएको सिटमा पानीसमेत पस्दैन । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले जहाज ल्याएको हो । एउटा सय सिटे र अर्को २५ सिटे क्षमताका दुईवटा जहाजले सेवा दिन थालेका छन् । जहाज ल्याउन कम्पनीलाई बराह क्षेत्र नगरपालिकाले पनि सहयोग गरेको छ । कम्पनीले अब थप चारवटा जहाज पनि ल्याउने भएको छ ।

उच्च पहाडी क्षेत्रसम्मको सेवाका लागि १० सिटे दुईवटा जहाज ल्याउने प्रक्रियामा रहेको मरिन एन्ड रिसोर्टस् प्रालिका सञ्चालक नवीन पौडेलले जानकारी दिए । करिब आठ करोड १२ लाख रुपैयाँमा जहाज ल्याइएको उनको भनाइ छ । यसको पोर्ट चतरामा निर्धारण गरिएको छ ।

सुविधासम्पन्न मिनी पानीजहाज हाल चतराबाट भोजपुर, धनकुटा रुटमा चल्दै आएको स्थानीय सरोज कोइरालाले जानकारी दिए । यो जहाज सञ्चालन भएपछि अहिले १० मिनेटमै बराह क्षेत्र पुग्न सकिन्छ । यसअघि सडक यातायातबाट चतराबाट डेढ घन्टा लाग्ने गरेको थियो । उक्त पानीजहाज काभ्रेको दोलालघाटसम्म सञ्चालनका लागि तयारी भइरहेको छ । दूधकोसीमा भएका ठुल्ठूला चट्टान फुटाएर बाटो बनाउन सरकारले बजेटसमेत विनियोजन गरेको छ । दोलालघाटसम्म जहाज चल्ने हो भने सडक यात्रामा दिनभरि लाग्ने सुनसरी एक घन्टामै पुग्न सकिनेछ । नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।