0 COMMENTS

मिलन चाम्लिङ,  विराटनगर, माघ ३/विराटनगर र काठमाडौंको भव्य सफलतापछि ‘मुनामदन’ नाटक फेरि विराटनगरमा मञ्चन गरिने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुल सुशीला कोइराला नाटक घरबाट मञ्चन सुरू गरिएको सो नाटक काठमाडौंको शिल्पी थिएटर र सुन्दरहरैंचास्थित विराटनचौकमा देखाइएपश्चात फेरि विराटनगरमै देखाइने बताइएको छ ।

नाट्य रुपान्तरक तथा संवाद लेखक कट्वाल दीपकका अनुसार यस नाटक ंफेरि विराटनगरस्थित आरोहरण गुरुकुल सुशीला कोइराला नाटक घरमा मञ्चन गरिने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ यसै माघ २२ देखि फागुन २ गतेसम्म देखाइने उनले बताए ।

उनका अनुसार नाटक हरेक दिन मध्याह्न १२ बजे र दिउँसो २ः३० बजे गरेर प्रत्येक दिन दुई शो राखिएको छ । यस्तै उनले स्कूल र कलेजको माग अनुसार फेरि मञ्चन गर्न लागिएको बताए ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुन लागेको यस नाटकले फेरि पनि विराटनगरबासीको मन जित्ने आयोजक संस्थाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले बताए । उनका अनुसार अहिलेसम्म ४५ शो मञ्चन भएको यस नाटक विराटनगरपछि पोखरामा मञ्चन गरिनेछ ।

मुनामदनको नाट्य रुपान्तरण तथा संवाद् लेखन युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् भने निर्देशन सवीन कट्टेलले गरेका छन् । सवीन शिल्पी थिएटरका कलाकार हुन् ।

नाटकमा लकेश दंगालले मदनको भूमिका निभाउने भएका छन् भने उनका साथमा कलाकारहरु सरु कटवाल, मिलन चाम्लिङ्ग, रिजेन राई, संगीता गौतम, नवराज गिरी, मनिता बस्नेत, मुस्कान तिम्सिना, सन्देश बाराकोटी, एन्जन पौड्याल लगायतको अभिनय रहने छ ।

यस्तै नाटक व्यवस्थापनमा गीत गौतम, तरुण खवास रहेका छन् भने कार्यक्रम संयोजकमा प्रलाद खाती रहेका छन् । गतवर्ष झैं यस वर्ष पनि मुनामदन दर्शकहरुले अत्याधिक मन पराउनेमा आफू विश्वस्त रहेको कार्यक्रम संयोजक प्रलाद खातीले बताए ।

नाटकमा अनुमानित खर्च २ लाख ५० हजार रहेको संवाद लेखक दीपक कट्वालले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।