नेपालका विभिन्न शक्तिपीठ हरु मध्ये गुह्येश्वरी लाई नेपाल राष्ट्रको गौरव, सौर्यता र साहस प्रदान गर्ने भगवतीको रूपमा पूजा गरिन्छ। गुह्येश्वरीको महिमा नेपाल माहात्म्य, हिमवत् खण्ड, श्री स्वस्थानी व्रत कथा आदिमा बताइएको छ। यो स्थानमा सर्व प्रथम तेत्तीस्कोटी देवताहरूले पूजा आराधना गरेको जन विश्वास छ भने हिन्दु धर्म शास्त्रको मान्यता अनुसार वर्षमा चारवटा पर्ने नौरथा मध्ये दुई वटा लाई गोप्य मानिन्छ भने दुई वटा लाई कम् महत्व र बढी महत्वका साथ मनाइने गरिएको मा विजया दशमीको अगाडि पर्ने नवमी तिथि मा बिश्व भरिका सबै शक्तिहरूको वास एकै ठाउँमा भेला हुने विश्वासका साथ गुह्येश्वरी मन्दिरमा विशेष पूजा आराधना गर्ने गरेको पनि पाइन्छ।
माता सतीदेवीको गुहृय पतन भएको विश्वास गरिएको उक्त क्षेत्रमा कुनै मूर्ति नभएर एक गर्भ गृह मात्र छ र सो ठाउँ मा सुन तथा चाँदीको कलश ले ढाकिएको जलपूर्ण कुण्डलाई श्रद्धालु भक्तजनहरु देवीको रूपमा पुज्ने गर्दछन्। प्राय सबै जसो कथनले पाशुपत क्षेत्र को एक गुह्येश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुहेश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्दछ। स्वयम्भु पुराण ले पुरानो गुह्येश्वरी हाल बालाजु फूलबारीमा अबस्थित लाई नै प्राचीनतम मानेर स्वयम्भु उत्पत्तिको पुष्पकमलको नाल नै यही कुण्डबाट प्रादुर्भाव भएको मान्दछ। नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डलाई पित्तलको अष्ट कमल दलको पुष्प केशर माथि कलश आकार स्वरूपले छोपिएको छ।
गुह्येश्वरीको मुर्ति हाल अन्य विभिन्न ठाउँमा पनि स्थापना भएको भएता पनि बालाजु मा रहेको मन्दिर नै सबै भन्दा पहिले उत्पत्ति भएको मानी पुरानो गुह्येश्वरी नाम रहन गएको हो भन्ने भनाई पनि छ। जहाँ राजा वीरेन्द्र पनि रानी वनमा रहेका बेलामा बिहानीको समयमा दर्शन गर्न आउने गरेको कुरा बुढा पाका हरु बताउने गर्छन् भने वडा दशैंको फूलपातीको दिन उक्त मन्दिरमा पनि बाजागाजा सहित फूलपाती ल्याउने गरेको भेटिन्छ। हरेक मंगलबार र शनिबारका दिन विशेष चहलपहल हुने यो मन्दिरमा कुनै खास तिथि तथा विवाहको लगन परेका बेला झनै भीड भाड पनि देख्न सकिन्छ।