काठमाडौँ, ३ पुस ०७५/पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ ।
कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।