बर्दिवास, २ पुस ०७५/ महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो ।
अहिले मटिहानीको घण्टाघर निर्माणमा दैनिक ५० भन्दा बढी ज्यामी जुटेका छन् । आउने वर्षको दशैँअगावै ५० फिट अग्लो घण्टाघर निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । घण्टाघर निर्माण काम गत शनिबार शुरु भएको हो ।
मुलुकभरकै सम्पूर्ण गुठी र मठमध्ये मुख्य मठ मानिने लक्ष्मीनारायण मठ, २५० वर्ष पुरानो राजकीय संस्कृत पाठशाला र संस्कृत क्याम्पस(याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) रहेको मटिहानीस्थित लक्ष्मीसागर सीताजीको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिन्छ । यहाँ बन्ने घण्टाघरले नगरको सौन्दर्य वृद्धिमा सघाउ पु¥याउने मटिहानीवासीले बताएका छन् ।
नेपाल भारत सीमाअवस्थित मटिहानी भारतको दरभङ्गा जाने प्रवेश पनि मानिन्छ । भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर, करुणा, बिसौल र गिरिजास्थानसहितका धार्मिकस्थल जानेआउने मुख्य नाका रहेकाले मटिहानीमा निर्माण हुने घण्टाघर दुबै देशका बासिन्दाका लागि गौरवको कुरा हुने लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।
घण्टाघर निर्माणमा महोत्तरी उद्योग वाणिज्य सङ्घ, सीमावर्ती भारतीय बजार मधवापुरको व्यापार निगम र भारतीय उद्योगीले पनि सकारात्मक चासो देखाएका छन् । निर्माण थालिएको घण्टाघरमा मिथिला कला, संस्कृति झल्किने चित्र अङ्कित गरेर आकर्षक बनाइने नगरपालिकाले जनाएको छ ।