काठमाडौं१९, मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ । यसले साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने व्यवस्था गरेको छ ।
यसले ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको साधारण निष्काशन गरेको छ।
यसले संस्थापकबाट ६७.४७ प्रतिशत र सर्वसाधारण (कर्मचारी)समेबाट ३२.२६ प्रतिशत गरी कुल १८ करोड ६० लाखको चुक्ता पुँजी पुर्याउने भएको छ । गत आव २०७४–७५ मा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै खुँद नाफा कमाएको यो वित्तीय संस्थाले चालू आवमै ३ करोड ७३ लाख नाफा गर्ने जनाएको छ ।
यसले तीन वर्षमा ५ करोड ७९ लाख रुपैयाँ नाफाको प्रक्षेपण पनि गरेको छ । साधारण शेयर जारी पछि हुने पुँजीलाई पशुपालन तथा कृषि कर्जा, खुद्रा व्यापार तथा सेवा र साना तथा घरेलु कर्जामा गरी ६ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएको छ ।
यसको शेयर आवेदन सी आस्वा सदस्य सबै वित्तीय संस्थाबाट गर्न सकिने छ । यसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो । यसले इक्रा एनपि आईपिओ ग्रेड ४ अंक पाएको छ । यसले यो संस्था औसत भन्दा कमजोर आधारको भनेर चिनाउँछ ।