पर्वत, २४ कात्तिक ०७५/ पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।
पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुनलागेको केबुलकारमा स्थानीयवासीले रु तीन अर्ब शेयर अधिकार पाउने भएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबुलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । जसको लागत रु १० अर्ब अनुमान गरिएकोमा ३० प्रतिशत स्थानीयवासीले शेयर हाल्न पाउने भएका छन् । पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउने भएका हुन् ।
अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।
पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।
केबुलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनीले दिएको जानकारीअनुसार पञ्चासेसम्म पुग्ने केबुलकार आगामी चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।