0 COMMENTS

काठमाडौं२० कात्तिक०७५/ यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ ।

यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गर्दछ । कुकुर इमान्दार र वफादार जनावर हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।

परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गर्दछन् ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

यस दिन मासको पात खाने चलन पनि छ । लिंग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

यस दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।