काठमाडौँ १०कार्तीक०७५/ कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपति भण्डारी र कतारका अमिरबीच यही कात्तिक १३ गते औपचारिक वार्ता हुने र राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने कार्यक्रम तय भइसकेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले कतारका व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा समेत साे भ्रमणका क्रममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे छ । साथै भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले समेत शिष्टाचार भेट गर्नुहुनेछ ।
कतारमा रहेकाे नेपाली दूतावासमा समेत राष्ट्रपति भण्डारी पुग्नुहुनेछ, साे क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्नुहुनेछ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ कार्यक्रम समेत छ ।
भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनुहुने छ । उहाँ यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे परराष्ट्र स्राेतले जनाएकाे छ ।