नेपालगञ्ज, २४ असोज ०७५/ करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना आज पूरा भएको छ ।
केन्द्रीय प्रसारण लाइनको कुसुमस्थित सब—स्टेशनबाट सो क्षेत्रमा विद्युत् विस्तार गरी आजदेखि स्थानीयवासीको घरघरमा विद्युत् आपूर्ति गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सब—स्टेशन विद्युत् फिडरको स्विच अन गरेर आज विद्युत् वितरणको शुभारम्भ गर्नुभयो ।सो अवसरमा उहाँले ऊर्जा र सिँचाइलाई मुलुक विकासको मूल आधार मानेर सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
“सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ”, मन्त्री पुनले भन्नुभयो, “विकास, समृद्धि र सुशासन मुख्य प्राथमिकता भएकाले सरकारबाट हुने कामप्रति कसैले आशङ्का गर्ने ठाँउ राख्नु हुँदैन ।”
कुसुम सब–स्टेशनबाट १३२÷११ केभीएको लाइनबाट कुसुम क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । विसं २०७२ मा सक्नुपर्ने विद्युत् विस्तारको काम ठेकेदारको लापरवाहीका कारण बत्ती बाल्ने धोको पूरा हुन सकेको थिएन । ढिलै भए पनि स्थानीयवासीको बत्ती बाल्ने धोको पूरा भएकोमा प्रदेश नं. ५ प्रदेशसभा सदस्य कृष्ण केसीको भनाइ छ ।
सदस्य केसीकै पहलमा स्थानीय सरकार, प्राधिकरण र प्रदेश सरकारबीच समन्वय स्थापित गरी विद्युत विस्तारको काम दु्रतगतिमा अघि बढाइपछि काम छिटो सकिएको हो ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युत्को उपभोग गर्न पाउने छन् ।