0 COMMENTS

कञ्चनपुर, १९ असोज ०७५/ भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पु¥याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो । उक्त परिच्छेदमा भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ । नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सापास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ । 

नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय भएको जानकारी दिनुभयो । गत भदौ १ गतेदेखि शुरु गरिएको नक्सापास ६ महीनासम्म जारी रहनेछ । 

नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णयबमोजिम पुराना भवनको नक्सापास गराउन सार्वजनिक सूचना गरिसकेको छ । वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताउनुभयो । 

उक्त नगरपालिकाले हालसम्म सात हजार ५०० भवनको नक्सापास गरिसकेको छ । नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन् । नक्सापास नगरी निर्माण गरिएका भवनको सङ्ख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिनुभएको छ ।गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३८२ भवनका नक्सा दर्ता भएकामा २७५ को पास गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।