भगवान् बुद्ध धर्मोपदेशको अन्तिम समयमा वर्तमान भारतको एक गाउँमा बास बस्न पुग्नुभयो।बुद्ध गाउँमा आएको थाहा पाएर बिहान सबेरै एक गरिब शुद्र बुद्धलाई आफ्नो घरमा भोजन गरिदिन निमन्त्रणा दिन पुग्याे, बुद्धले स्वीकार्दै उसलाई घर पठाउनुभयाे। केही समय पश्चात् त्यहाँ बुद्धलाई निमन्त्रणा दिन गाउँका मुखिया, धनपतिहरु आए।
यद्यपि बुद्धले कसैलाई वचन दिइसकेको भन्दै सबैको निमन्त्रणा अस्वीकारगर्नुभयो। उता बुद्ध त्याे गरिब शुद्रको घरमा आउँछन् भन्ने विश्वास स्वयं त्यो शुद्रलाई पनि थिएन तर ठीक समयमा बुद्ध गरिब शुद्रको घरमा पुग्नुभयो। तर त्यो गरिबसँग बुद्धलाई भोजन गराउने केही खान थिएन । र, पनि त्याे शुद्रले कुकुरमुत्ताको तरकारीको साथ भोजन गरायो। (तत्कालीन समयमा बिहारका गरिबहरु बर्षातको समयमा सेपिलो, फोहर ठाउँमा उम्रने एक प्रकारको सब्जी कुकुरमुत्ता संकलन गरेर सुकाएर राख्ने गर्दथे, कहिलेकाहीं त्यो कुकुरमुत्ता खतरनाक बिषालु पनि हुनसक्थ्यो जस्तै हामीकहाँ हुने च्याऊ।
बुद्धले जब खाना मुखमा राख्नुभयाे त्यो अत्यन्त नमीठो र कडा थियो तथापि बुद्धले स्वादिलो मान्दै ग्रहण गर्नु भयो किनभने ती गरिबसँग बुद्धले अर्को विकल्प देख्नुभएन र धन्यवाद दिँदै बिदा हुनुभयो । बुद्ध हिँडेपछि त्याे शुद्रले पनि खाना चाख्याे तर उसले तयार गरेको कुकुरमुत्ता बिषालु परेछ भन्ने जब उसले बुझ्याे,
त्यो शुद्र छाती पिट्दै, रुँदै बुद्धको शरणमा गयो र आफूलाई सजाय दिन आग्रह गर्याे । तब बुद्धले मुस्कुराउँदै भन्नुभयो, हजारौं, करोडौं बर्ष पश्चात् एउटा बुद्ध जन्मन्छ र त्यो दुई जना सौभाग्यशाली व्यक्तिलाई मात्र अवसर मिल्छ, त्यो हो पहिलो भोजन गराउने आमा र अन्तिम भोजन गराउने तिमी । यसर्थमा तिमी भाग्यशाली रहेछौ जसले बुद्धलाई अन्तिम भोजन दान गर्यौ। थाहा छैन अब हजारौं बर्षपछि जन्मिने बुद्धलाई पहिलो र अन्तिम भोजन गराउने शौभाग्य कसलाई प्राप्त हुन्छ ? तिमी नडराऊ, मैले त्यो अमृत प्राप्त गरिसकेको छु, मलाई यस्ता बिषको कुनै परवाह छैन भन्दै भगवान् बुद्धले ती शुद्रलाई सम्झाएर पठाउनुभयो। तर बुद्धका शिष्यहरु आक्रोशित हुँदै भन्न लागे भगवान् ! त्यो हत्यारा हो, त्यसलाई त्यसै
छाड्न मिल्दैन। यो सुनेर बुद्ध भन्नूहुन्छ, उसलाई यस्तो आरोप लगाएर नरकमा नधकेल बरु शहरमा गएर बुद्धलाई अन्तिम भोजन दान गर्ने सौभाग्यशाली त्यो गरिब शुद्रको नाम प्रचार गर भन्दै बैशाख पूर्णिमाकै दिन भगवान् बुद्धले पञ्चमहाभूत भौतिक शरीर त्याग गरी महापरिनिर्वाण प्राप्त गर्नुभयो। ।।ॐमणि पद्मे हूँ।।