क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ
अन्धो यो चोर छाडेर साधुलाई समाउँछ !
सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा
निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !
माथि हुन्छ सधैँ सत्ता आँखा हेर्दैन तल्तिर
हेर्छ हेर्छ अझै माथि घुम्छ आकाश फर्फर !
शान रवाफ हो सत्ता दास खोज्छ यताउता
खाएर भक्तको ताली नेता बन्दछ देवता !
अजिँगर सधैँ सत्ता गाँस निल्छ चुली चुली
उपदेश सधैँ दिन्छ देश फेर्दैन काँचुली !
छलछाम सधैँ सत्ता छलेर कर छाम्दछ
खलको बल हो सत्ता सोझाको मुटु काम्दछ !
सुन जागिर हो सत्ता सुन पैह्रेर नाच्दछ
महँगो सरको कार देशकै हाड भाँच्दछ !
सत्ताको दिल नै हुन्न कहाँ पग्लन्छ पत्थर ?
आशाले पछि लागेको स्याल सन्तुष्ट के छ र ?
(छन्द: अनुष्टुप् )
(सपनामा हराएको बिपना – कवितासंग्रह -२०६६ बाट साभार )
प्रतिक्रिया दिनुहोस्