0 COMMENTS

काठमाडौं २१भदाै०७५/बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । समूहको दोस्रो खेलमा नेपालले बिहीबार भुटानमाथि ४–० को शानदार जित निकालेको हो ।

नेपालको जितमा अनन्त तामाङ, भरत खवास, निराजन खड्का र सुनील बलले गोल गरे । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अर्को चरणका लागि दबाबमा आएको नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा कर्नर बललाई हेडमार्फत अनन्तले जालि चुमाएका थिए ।

पहिलो गोलपछि हौसिएको नेपाली टोलीले आक्रामक प्रदर्शन गरे पनि पहिलो हाफमा गोल थप्न सकेनन् ।दोस्रो हाफमा फरक रणनीतिसहित मैदान छिरेका नेपाली खेलाडीले एकपछि अर्को उत्कृष्ट गोल गरे । खेलको ६९ औं मिनेटमा भुटानका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्तिमगरले गोल गर्न सकेनन् तर विमलको ‘मिस बल’ मा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका सुनीलले बाँकी ३ गोलमा महत्वपूर्ण योगदान दिए । खेलको ७७ औं मिनेटमा अन्जन बिष्टको स्थानमा मैदान प्रवेश गरेका भरत खवासले नेपालको अग्रता तेब्बर बनाए ।

भुटानको कमजोर डिफेन्सको फाइदा उठाउँदै भरतले गोल गरेका थिए । विशाल राईको स्थानमा मैदान प्रवेश गरेका निराजन खड्काले नेपालका लागि ८९ औं मिनेटमा चौथो गोल गरे । ५ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका निराजनले यसअघि पाकिस्तानविरुद्धको खेलमा विमल घर्तिमगलरले गरेको गोलमा बल पास गरेका थिए ।

भुटानविरुद्ध ४–० को फराकिलो जित निकालेको अब समूहको अन्तिम खेल शनिबार आयोजक बंगलादेशसँग हुनेछ । जितपछि नेपालको ३ अंक भएको छ भने भुटान लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि सेमिफाइनलको सम्भावना कायमै राखेको नेपाल अब अन्तिम खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । समूहको अन्तिम खेलमा बंगलादेशविरुद्ध जित निकाले नेपाल सेमिफाइनलमा पुग्नेछ । नेपालले समूहको पहिलो खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।