0 COMMENTS

सुनसरी ११साउन०७५/ सुनसरीको दुहबी नगरपालिका- १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब दिएको पीडित परिवारले बताएकाे छ। चार दिनअघि स्थानीय १३ वर्षीया दलित बालिकामाथि जबर्जस्ती करणीको प्रयास भएको थियो।

गत सोमबार राती ती बालिकामाथि स्थानीय ३० वर्षीय सुभान मियाले जबर्जस्ती करणीको प्रयास गरेको पीडित बालिकाले बताइन्। चार दिनअघि भएको घटनामा पीडित परिवारले बिहीबार बिहान इलाका प्रहरी कार्यालय दुहबीमा पीडक मियाविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दिएका छन्।

आफ्नी १३ वर्षीया छोरीमाथि बलात्कार प्रयास गरेको मुद्दा गाउँमै मिलाउन स्थानीय केही व्यक्तिले दबाब दिएपछि जाहेरी दिन ढिलाइ भएको पीडित बालिकाका बुबाले बताए। उनले दुहबी नगरपालिका- १ का पीडक मियामाथिको मुद्दा फितलो र कमजोर पार्न सार्वजनिक अपराधको मुद्दा दर्ता गर्न गाउँका टाठाबाठा लागेको र आफ्नो परिवार र छोरीले न्याय नपाउने हो कि भन्ने चिन्ताले सताएको गुनासो गरे।

यस विषयमा सम्पर्क गर्न खोज्दा दुहबी नगरपालिका- १ का वडा अध्यक्ष्य अजुल हुसेनको फोन बिहानैदेखि स्वीच अफ गरेको पाइएको छ। दुहबी नगरपालिकाका नगर प्रमुख वेद गच्छदारले जबर्जस्ती करणीको प्रयास जस्तो जघन्य अपराधको घटना स्थानीयस्तरमै मिलाउन वडा अध्यक्षको भूमिका रहेको विषयमा आफू जानकार नभएको बताए। यसबारे आफूले बुझ्ने भन्दै यदि त्यस्तो संगलग्नता भएको पाइए कारवाहीको भागिदार हुने बताए।

यस्तो थियो घटना
गत साउन ७ गते सोमबार साँझ खाना खाई परिवारका सबै जना सुतेका थिए। १३ वर्षीया पीडित बालिका हजुरबुबासँग गुहाली घरमा सुतेकी थिइन्। सामान्य खेती किसानी गर्दै आएका उनीहरूमध्ये पीडितका हजुरबुबा र हजुरआमा राती ९ बजे खेतमा पानी पटाउन कोदालो बोकेर हिँडे। नातीनीसँग गुहाली घरमा सुतेका हजुरबुबा र हजुरआमा पानी पटाउन खेततिर हिँडेको मौका छोपेर पीडित बालिकाको घर अगाडि नै घर भएका पीडक मिया बालिका सुतेको ठाउँमा पुगे। बालिका एक्लै निदाएको मौका छोपी उनीमाथि राती साढे १० बजे जबर्जस्ती करणीको प्रयास भएको पीडितका हजुरबुबाले बताए। मियाले एक्लै भएको मौका छोपी आफूलाई हातले मुख छोपेर जबर्जस्ती करणीको प्रयास गर्दा आफू चिच्याएको बालिकाले बताइन्।

आफूमाथि जबर्जस्ती करणी गर्न खोज्ने मियाको हात टोकेर चिच्याउन थालेपछि मिया भागेको भन्दै उनले घटनाको बेली बिस्तार लगाइन्। घटना भएको भोलिपल्ट स्थानीय केही टाठाबाठाले गाउँघरको घटना हो, गाउँमा नै मिलाउनुपर्ने भन्दै दबाब दिएपछि आफूहरू अन्याेलमा परेको पीडित बालिकाका बुबाको भनाइ छ। जाहेरी दिन ढिलाइ भएपछि न्याय खोज्न चौकी धाउनुपरेको उनले बताए।

उनले इलाका प्रहरी कार्यालय दुहबीमा बिहान जबर्जस्ती करणी गरेको आरोपको जाहेरी दर्ता भएदेखि नै विभिन्न खाले दबाब आएको र आफूलाई मानसिक तनावसमेत दिएको बताए। छोरीलाई बलात्कार प्रयास गरेर अन्याय गरिरहेका र पनि मिलिदिन दबाब दिएर अन्याय गरेको समेत उनको भनाइ छ। गाउँका बुद्धिजीवीहरू नै यो घटना लुकाउन लागिपरेकाले ढिला गरी जाहेरी दिएको उनको भनाइ छ। आफ्नी छोरीलाई बलात्कार प्रयास गरेको घटना बाहिर आएपछि पीडक मिया फरार भएको उनले बताए।

यसो भन्छ प्रहरी
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले घटना भएको भोलिपल्टै पीडित बालिकाको महिला प्रहरीले बयान लिएको र निवेदन लिएर पीडित परिवारलाई आउन भनेको बताए।

निवेदन ल्याएर दर्ता गराउन आग्रह गर्दा पीडित परिवारले नै ढिलाइ गर्दा कारवाही प्रक्रिया अगाडि बढाउन नसकिएको उनको भनाइ छ। प्रहरी निरीक्षक माझीले पीडित परिवारलाई मुद्दाका बारेमा राम्रो जानकारी नभएका कारण दबाब दिएर मिल्छ भन्ने डर माने पनि प्रहरीले दोषी उपर कारवाही प्रक्रिया अगाडि बढाउने बताए। उनले स्थानीय केही नेताहरूबाट घटनालाई फितलो पार्न दबाब दिएको भन्दै तर नाम बताउन भने चाहेनन्। उनले भने, ‘यो घटना मात्र होइन, यस्ता खालका अन्य धेरै घटनामा स्थानीय नेताको दबाब आउँदोरहेछ तर मैले नाम भन्न मिल्दैन।’ प्रहरी निरीक्षक माझीले कानुनी दायरामा अभियुक्तलाई ल्याउने बताउँदै कानुनी पहुँचबाट कोही पनि वन्चित हुनु नहुने बताए। साभार श्राेत : थाहाखबर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।