काठमाडौँ, १० साउन०७५/ अनसनरत प्राध्यापक डा गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ । सहमतिमा हस्ताक्षर गर्न सरकारी र डा केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति हस्ताक्षर हुन लागेको हो । वार्तामा सरकारले संसदको पेश गरेको चिकित्सा शिक्षा विधेयक डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि वार्ता सफल भएको हो । सहमतिलगत्तै अनशन तोडाउन नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।
मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।
डा केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा काठमाडौँ ल्याएको थियो ।