काठमाडौं०७, साउन ०७५/ सरकराले प्रविधिको अनुशरण गरेको भन्दै काठमाडौं उपत्यका र देशभर नै स्मार्ट सवारी चालक अनुमतिपत्रको व्यवस्था कार्यान्वयनमा ल्यायो । लामो समयदेखि प्रतीक्षामा रहेका सवारी चालक अनुमतिपत्र लिन परीक्षा उर्तिण गरेका चार लाखभन्दा बढीले अझैसम्म पनि स्मार्ट कार्ड पाएका छैनन् ।
सरकारले यही साउन भरी नै गृह मन्त्रालयको समेत मेसिन प्रयोग गरी स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ । तर, स्मार्ट कार्ड आवेदन दिनेले ढिलो चाँडो पाउलान् नै । तर, समस्या भने पछिल्लो दिनमा नक्कली सवारी चालक अनुमतिपत्रले पारेको छ ।
सरकारले कार्यान्वयनमा ल्याएको स्मार्ट सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाएर कारोबार गर्ने गिरोह राजधानीमा सक्रिय रहेको पाइएको छ । प्रविधिको दुरुपयोग गरेर नक्कली सवारी चालक अनुमतिपत्र बनाउने र मोटो रकम लिएर ठगी गर्ने गिरोहलाई कारबाही गर्न सरकारी निकाय प्रभावकारी देखिएको छ ।
उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी छ । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स विस्थापन गरी स्मार्ट लाइसेन्स प्रणाली लागू गरेको हो । प्रविधिको दुरुपयोग गरी अहिले नक्कली लाइसेन्स लिएर सवारी चलाउने संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
पछिल्लो दिनमा स्मार्ट कार्डको रुपमा रहेको सवारी चालक अनुमतिपत्र नक्कली बनाएर दुरुपयोग गर्ने गिरोह क्रियाशील रहेको र पक्राउ पर्नेको सख्या समेत बढेको पाइएको हो ।
गत असारको अन्तिम सातापछि प्रहरीले नक्कली स्मार्ट लाइसेन्स लिएका ५ जना सवारी चालक पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो । के कति मात्रामा नक्कली सवारी चालक अनुमतिपत्र रहेको छ र गिरोहले के कति मात्रामा त्यस्तो अनुमतिपत्र बनाएका छन् भन्ने बारेमा यकिन तथ्यांक भने न त प्रहरीसँग छ न त यातायात व्यवस्थापन विभागसँग नै छ ।
ट्राफिक प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बोकेर चक्रपथमा गुड्ने बा ५ ख २८५४ नम्बरको बस चालक चक्र नेपालीलाई असार २९ मा नियन्त्रणमा लियो ।
यस्तै ललितपुर ट्राफिकले गत असार ३१ मा सातदोबाटोबाट २२ वर्षे प्रविन स्याङ्तानलाई मालवाहक मिनी ट्रक चलाइरहँदा पक्राउ गर्याे । ललितपुर प्रहरीका अनुसार बा ४ ख ७१२९ नम्बरको मिनी ट्रक चलाउने स्याङ्तानले कार, जिप र बस, ट्रक र लहरी चलाउने अनुमति पाएका थिए ।
यस्तै ललितपुरबाटै ट्राफिक नियम उल्लंघन गरेपछि नियन्त्रणमा लिएका बुद्धबहादुर कामीको स्मार्ट लाइसेन्ससमेत नक्कली भेटियो ।
लाइसेन्स नम्बर ०१–०६–००२४८७५९ रहेको सो लाइसेन्समा बी, एफ र जी क्याटोगरीका सवारी चलाउने अनुमति लिएका कामीले पनि लामो समयदेखि नक्कली अनुमतिपत्र लिएको फेला पर्याे ।
यस्तै ललितपुरको ग्वार्कोबाट बा ५ ख २८५४ नम्बर मिनी बस चालक चक्रे नेपाली पनि नक्कली स्मार्ट कार्ड लिएको अभियोगमा पक्राउ परे । यी त उदाहरणमात्रै भए । ट्राफिक प्रहरीले कुन स्मार्ट कार्ड सक्कली हो, कुन स्मार्ट कार्ड नक्कली हो भन्ने छुट्याउन सकेको छैन ।
कुन लाइसेन्स सक्कली हो वा नक्कली हो भने र छुट्याउन कठिन भएका कारण दुर्घटना हुँदा के गर्ने र कसरी कारबाही गर्ने भन्ने निक्र्यौल गर्न कठिन भएको छ ।
यातायात विभागबाट स्मार्ट लाइसेन्स जाँच्ने कुनै पनि मेसिन उपलब्ध नगराएका कारण समस्या बढ्दै गएको छ ।
शंका लागे पक्राउ गरेर यातायात व्यवस्था विभाग पठाउनुको विकल्प नभएको प्रहरीको भनाइ छ ।
प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरिह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह राजधानीमा सक्रिय मात्रै नभई सरकारी निकाय भन्दा बढ्ता क्रियाशील रहेको छ ।
त्यस्तो कार्डमा मोबाइल फोनको सिमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ, जसमा चालक र सवारीसँग सम्बन्धित डाटा त्यही चिप्समा रहेको हुन्छ । सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परे त्यसैमा रेकर्ड रहने व्यवस्था गरिएको छ । तर हालसम्म न त प्रहरीले मेसिन पाएको छ न त सरकारले नै चासो दिएको छ ।
विभागले हालसम्म चार लाख स्मार्ट कार्ड वितरण गरेको छ । चार लाखको हाराहारीमा कार्ड लिने प्रतीक्षामा रहेका छन् ।
कागजी सवारीचालक अनुमतिपत्रका कारण परेको समस्या समाधान गर्न सरकारले स्मार्ट कार्डको व्यवस्था गरेपनि कार्डमा नै समस्या देखिएपछि अब के गर्ने भन्ने बारेमा हालसम्म कुनै निर्णय भएको छैन ।