काठमाण्डाै२८असार०७५/विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।
क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो । क्रोएसियाले यसअघि विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै आफ्नो यात्रा अगाडि बढाएको हो ।
क्रोएसियाका लागि खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल निर्णायक बनेको थियो । निर्धारित समयमा एक एक गोलको बराबरी खेल सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । पाँचौ मिनेटमा गोल खाएर पछि परेको क्रोएसियाका लागि इभान पेरिसिकले ६८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
इंग्ल्यान्डका लागि खेलको पाँचौ मिनेटमै किएरन ट्रिपिएरले फ्रिकिक मार्फत सुन्दर गोल गरेर अग्रता लिएका थिए । पेरिसिक खेलको म्यान अफ द म्याच बने। जारी विश्वकपको यो दोस्रो सेमिफाइनल हो । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनल यात्रा गरेको थियो । विश्वविजेता बन्न क्रोएसियाले फाइनलमा फ्रान्सलाई पराजित गर्नुपर्नेछ ।