काठमाडाैँ२१असार०७५/ सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसँगै प्रदेश प्रमुखहरुको पद समेत धरापमा परेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते सातै प्रदेशका प्रमुखको नियुक्ति गरेको थियो । निर्वाचन आचारसंहिता लागु भएकै अवस्थामा सरकारले राजनीतिक नियुक्ति गरेको कारण सहित सरकारले नियुक्तिको निर्णय खारेज गरेको बताइएकोछ । कानून मन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरु पनि राजनीतिक नियुक्ति भएकाले उक्त निर्णय समेत खारेज भएको जानकारी दिनुभएको छ ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो । नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । कायस्थ र झा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट नियुक्त हुनुभएको थियो ।