0 COMMENTS

काठमाडौं १५असार०७५/ माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले ‘मलाई त्यहि केटी चाहिन्छ’ भन्ने गीत जस्तै ढिप्पी नगर्न आग्रह गरेका छन् ।

विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले व्यंग्यात्मक शैलीमा डा. केसीलाई लक्षित गर्दै भने- ‘अधिनायकवादको अर्थ के हो त भन्दाखेरि मलाई त्यही केटी चाहिन्छ भन्ने पनि हो ! हजारौं ठाउँहरु खुल्ला छन्, अन्त विरोध प्रदर्शन गर्न नचाहने, त्यही ठाउँ (मण्डला)मा मात्रै गर्न चाहने भन्ने कुरो अधिनायकवाद हो ।’

सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

डा. केसीको मागलाई ठाडै अस्वीकार गर्दै मन्त्री थापाले त्यहाँ विरोध प्रदर्शन गर्न दिँदा नागरिकहरुको अधिका हनन हुने जिकिर गरे । मन्त्री थापाले थपे, ‘माइतीघर मण्डला जस्तो ठाउँमा विरोध प्रदर्शन गर्न दिने हो भने त त्यहाँ पुरै यातायात जाम हुन्छ । यातायात जाम भयो भने अन्य नागरिकहरुको अधिकार अतिक्रमण हुन सक्छ । त्यसैले यो कुरा नागरिकहरुको अधिकारसँग जोडिएको कुरा हो । सुरक्षासित जोडिएको प्रश्न पनि हो ।’

डा. केसी नागरिकको प्रतिनिधि भएता पनि निर्वाचनबाट आएको यो सरकार पनि नागरिककै प्रतिनिधि भएको मन्त्री थापाले दाबी गरे । उनले भने, ‘यो सरकार जनप्रतिनिधिहरुको सरकार हो । उहाँले नागरिकहरुको प्रतिनिधित्व गर्नुहुन्छ भने यो सरकारले पनि त नागरिककै प्रतिनिधित्व गर्छ । वास्तवमा नीति नियमसँग हठ गर्ने कुरालाई हामीले लोकतन्त्र ठान्दैनौं ।’

गृहमन्त्री थापाले निशेधित क्षेत्रहरु तोक्नुको कारण खुलाउँदै भने, ‘हामीले जनताको जीउधनको सुरक्षा गर्नुपर्छ । कुनै पनि ठाउँमा नागरिकहरुले आवाज उठाउन सक्छन् । त्यस्तो आवाज निश्चित ठाउँबाट उठाउने हो । केही निश्चित ठाउँहरुलाई निषेधित क्षेत्रजस्तो तोकिएको छ । अरु सबै ठाउँहरु खुला छन्, त्यहाँ नागरिकहरुले आफ्ना आवाज उठाउन सक्छन् । केही ऐतिहासिक ठाउँहरुलाई निशेत्रित क्षेत्र तोकिएको छ, त्यही पनि नागरिकहरुकै सुरक्षाको निम्ति । आवागमनहरु व्यवस्थित होस् भन्नका निम्ति खासखास ठाउँहरुलाई हामीले निषेधित गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।