राजविराज, २३ जेठ०७५/ प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।
राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गर्नुभएको हो । आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उहाँले गर्नुभयो ।
प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेका छन् । राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उहाँले बताउनुभयो ।