भक्तपुर, २२ जेठ ०७५/ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।
सहकारीको निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उहाँ डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए ।
यसअघि काठमाडौँले २ वर्ष कैद र रु पाँच करोड ९१ लाख ९७ हजार जरिवाना र सोही प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र चार लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
यस्तै, भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र रु ८४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा रु सात लाख, गंगालाल खयरगोलीको जोहेरी मुद्दामा रु पाँच लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार माग गरेको धरौटी रकम बुझाएपछि बस्नेत तारेकमा रिहा भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।बस्नेतमाथि भक्तपुर, काठमाडाैँ र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्दा रहेको बताइएको छ ।