0 COMMENTS

काठमाडौँ, २० जेठ०७५/ राष्ट्रिय समाचार समिति (रासस) ले अंग्रेजी शाखाका उपसम्पादक एवं सगरमाथा आरोही रोशा बस्नेतलाई सम्मान गरेको छ ।

राससमा आज आयोजित विशेष सम्मान कार्यक्रममा यही जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल बस्नेतलाई राससका अध्यक्ष कुलचन्द्र वाग्ले तथा महाप्रबन्धक ओपेन्द्र शर्माले सम्मान गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष वाग्लेले राससको ५७ औँ वर्षको इतिहासमा रासस अंकित लोगो सगरमाथाको शिखरमा पुग्नुमा गौरवको अनूभूति भएको उल्लेख गर्दै राससको इतिहासमा यो सुनौलो इतिहास भएको बताउनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समाचार समितिबाट सगरमाथा चढ्नु आफैँमा गौरवको कुरा भएको बताउँदै आगामी दिनमा राससलाई सगरमाथाजतिकै उचाइमा पु¥याउने गरी काम गर्न पनि उहाँलाई शुभकामना दिनुभयो ।

राससका नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले निकै शाहसी मान्छेहरुले मात्र सगरमाथाको सफल आरोहण गर्नसक्ने अनुभव सुनाउँदै आगामी दिनमा थप ऊर्जाका साथ काम गर्न शुभकामना दिनुभयो ।

रासस सञ्चालक समितिका सदस्य एकराज पाठक, नेपाल पत्रकार महासंघ रासस शाखाका अध्यक्ष नारायण घिमिरे, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रेम उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले सगरमाथा आरोहण गरेर वीरताको पहिचान बनाउन सफल भएकामा उहाँलाई बधाई तथा शुभकामना प्रदान गर्नुभयो ।

सगरमाथा आरोही बस्नेतले राससको लोगो अंकित ब्यानर सगरमाथाको शिखरमा फहराउनुभएको थियो ।

‘समानताका लागि बुलन्द आवाज’ नामक नेपाल पत्रकार महासंघको व्यानरमा पाँच जना महिला पत्रकारहरुले सगरमाथा आरोहणका लागि गएकोमा चार जना मात्र चढ्न सफल भए ।

पत्रकार महिलाहरुको समूहमा बस्नेतसहित रोजिता बज्राचार्य, देउराली चाम्लिङ र कल्पना महर्जन सफल आरोहण गर्नुभयो । तर समूहमा रहेका प्रियालक्ष्मी कार्की स्वास्थ्य समस्याका कारण आरोहण गर्न सक्नुभएन ।

सगरमाथा चढ्दाको बस्नेतको अनुभवः

“सगरमाथाको चुचुरोमा पुग्दा मेरो दिमाग शुन्य भएको थियो, मनमा विश्वको सर्वोच्च शिखरमा पुगे भन्ने लाग्यो, मैले राससको लोगो अंकित ब्यानर सगरमाथामा पुर्याउन सफल भएँ”– सगरमाथा आरोहणपछि राससमा आयोजित सम्मान कार्यक्रममा बस्नेतले आफ्नो अनुभव सुनाउनुभयो ।

सामूहिकरुपमा पत्रकार महिला सगरमाथा चढ्दा पत्रकारिताको पहिचान सर्वोच्च स्थानमा पुगेको अनुभूति आफूले पाएको भनाई उहाँको छ । “दिनमा आरोहण गर्दा मौसम खराब हुन्थ्यो, रातभरि आरोहण गरियो, आरोहण अवधिमा त्यो हिमाल, अगाडिको साथी, चुचुरोमा पुग्नेबाहेक कुनै सोच आउदैन्थ्यो”, उहाँले थप्नुभयो ।

सगरमाथा आरोहणका क्रममा आरोही बस्नेतले बारम्बार भगवान्लाई पुकारिरहनुहुन्थ्यो । उहाँले भन्नुभयो, “फर्कंदा हिलारी स्टेपमा म नराम्ररी पछारिए, भगवान् भएर मेरो गाइड शेर्पाले मलाई उद्धार गर्नुभयो, मैले भगवान्का रुपमा गाइड शेर्पालाई देखेँ ।”

आरोही बस्नेतको अनुभवमा हिमाल चढ्न जति गाह्रो छ, फर्किन पनि त्यतिकै कठिन छ । साथमा गएका एउटा साथी आरोहण गर्न नसक्दा जति खुशी मनाउनुपर्ने हो, त्यो हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।

“आरोहणका क्रममा क्याम्प तीन र चारमा निकै फोहर देखियो, आगामी दिनमा हिमाल सफा राख्ने अभियान चलाउने आफ्नो सोच छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।