गरुड पुराण प्रमुख हिन्दु धर्म ग्रन्थहरूमध्येको एक हो। कसैको मृत्युपश्चात घर(परिवारका सदस्यहरूले ब्राह्मण द्वारा गरुडपुराण सुन्ने परम्परा छ। यस पुराणमा भगवान विष्णुले आफ्ना वाहन गरुडलाई मृत्युसँग सम्बन्धित अनेकौँ गोप्य कुराहरू खुलाएको उल्लेख गरिएको छ। मृत्युपश्चात जीवात्मा यमलोकसम्म कसरी जान्छन्, त्यसमा उसको घर(परिवारको कस्तो भूमीका रहेको हुन्छ, यी सबैको विस्तृत वर्ण गरुड पुराणमा बताइएको छ।
आज हामी तपाईँहरूलाई गरुड पुराणमा लेखिएका केहि रोचक कुराहरूको बारेमा बताउन गैरहेका छौँ ।
१.गरुड पुराणका अनुसार, जो मनुष्यको मृत्यु हुन लागेको हुन्छ, ऊ बोल्न खोज्दछ तर बोल्न सक्दैन। अन्त्यमा उसका सबै इन्द्रियहरू (बोल्ने, सुन्ने, आदि) नष्ट भएर जान्छन् र ऊ अचल अवस्थामा पुग्दछ। यसपछि उसको मुखबाट फिँज निस्कन थाल्दछ र कसै(कसैको मुखबाट र्याल पनि निस्किन थाल्दछ।
त्यतिबेला यमराजका दुई यमदूतहरू आइपुग्छन्। उनीहरूको अनुहार एकदमै भयानक हुने पुराणमा लेखिएको छ। उनीहरूले आफ्ने लामा–लामा नङलाई शस्त्रको रूपमा प्रयोग गर्ने गर्छन्। उनीहरूको आँखा पनि ठूल्ठूला हुन्छन्। यस्तो भयङ्कर यमदूतहरूलाई देखेर प्राणी भयभीत भई मलमूत्र त्याग गर्न थाल्दछन्। त्यस समय प्राणीको शरीरबाट ‘अंगूष्ठमात्रा’ (औँलाको जत्रै) जीव ‘हा हा’ शब्द निकाल्दै निस्किन्छ र यमदूतहरूले उसलाई समाउँदछन्।
२. यमदूतहरूले त्यस जीवलाई समातेर तुरुन्तै यमलोकतर्फ लैजान्छन्, जसरी राजाका सैनिकहरूले कुनै अपराधीहरूलाई समातेर लैजान्छन् । यमलोक जाँदै गर्दा बाटोमा जतिसुकै थाकेर लखतरान भएपनि यमदूतहरूले त्यस जीवलाई थकाई मार्ने मौका दिँदैनन् । उसलाई नर्कमा मिल्ने सजाय र दुःखहरूको बारेमा बारम्बार सुनाइरहन्छन् । यमदूतहरूको यस्तो डरलाग्दो कुरा सुनेर त्यस जीवात्मा रुन थाल्दछन् तर ऊप्रति कसैले पनि दया गर्दैनन्।
३. अनेकौँ दुःख र कष्ट भोग्दै त्यस जीवात्मालाई यमदूतहरूले अन्धकारको बाटो हुँदै यमलोक लैजान्छन्।
४. गरुड पुराणका अनुसार, यमलोक ९९ हजार योजन बिस्तार रहेको छ। एक योजन बराबर चार कोस अर्थात १४ किलोमिटर हुन्छ । तर यमदूतहरूले त्यस जीवात्मालाई एकैक्षणमा त्यहाँबाट कटाउँछन् । अब उनीहरूले त्यस आत्माको पाप र पुण्यलाई नापेर सोहि अनुसार सजाय दिन्छन् । त्यसपश्चात यमराजको आज्ञा लिएर यमदूतहरूले त्यस आत्मालाई फेरि उसकै घरसम्म छोडिदिन्छन् ।
५. घर फर्किएर उक्त आत्मा पुनः आफ्नै शरीरमा प्रवेश गर्न चाहन्छन्, तर यमदूतको बन्धनबाट उसले मुक्ति पाउन सक्दैन र केहि दिनसम्म उसको आत्मा आफ्नै घरमा भौँतारिरहन्छ ।
६. गरुड पुराणका अनुसार, मनुष्यको मृत्युपश्चात १० दिनसम्म पिण्डदान अनिवार्य दिनुपर्दछ। त्यस पिण्डदानलाई यमदूतहरूले प्रतिदिन चार भागमा छुट्याउँछन्। त्यसमध्ये २ भाग पञ्चमहाभूतका लागि छुट्याइन्छ, तेस्रो भाग यमदूतको हुन्छ भने चौथो भाग प्रेतात्माले खान पाउँछन् । यसरी ८ दिनसम्म उसको पिण्डलाई चारभागमा छुट्याइन्छ । त्यसपछि ९औँ दिनको पिण्डदानले त्यस आत्मालाई शरीर मिल्दछ र १०औँ दिनको पिण्डले उसको शरीरलाई चल्ने शक्ति प्राप्त हुन्छ ।
७. यता पृथ्वीमा त्यस व्यक्तिको शरीर जलाइसकेपछि उता यमलोकमा उसको शरीरको कठपुतली उत्पन्न हुन्छ । पहिलो दिन चढाइएको पिण्डले त्यसको शिर बन्छ, दोस्रो दिनको पिण्डले घाँटी र काँध, तेस्रो दिनमा हृदय, चौथो दिनमा पिठ्यूँ, पाँचौँ दिनमा नाभी, छैठौँ र सातौँ दिनमा कम्मर र यौनाङ्ग, आठौँ दिनमा खुट्टा, नौवौँ र दशौँ दिनमा भोकप्यास–मायादया लगायतका भावनाहरू त्यस कठपुतलीमा गएर जोडिन्छ र एउटा पूर्ण शरीर उत्पन्न हुन्छ। त्यसपछि मात्रै ११औँ र १२औँ दिनमा उसको शरीरले भोजन गर्न पाउँदछ।
८. अझसम्मका यी सबै गतिविधिहरू यमलोक नपुग्दैको बाटोमा पर्ने यमदूतहरूको स्थलमा हुने गर्दछ । १३औँ दिनमा उसको शरीरलाई यमदूतहरूले बाँदरलाई जसरी समातेर बाँधिदिन्छन् र एक्लै यमलोक पठाइदिन्छन् । बाटोमा उसको लागि खानेकुराहरू पनि केहि हुँदैन। यमलोकसम्म पुग्ने बाटो वेतरणी नदीलाई छोडेर ८६ हजार योजन विस्तार रहेको भगवान विष्णुले गरुडलाई बताएका छन् । ४७ दिनसम्म भोक र प्यासले तड्पिँदै लगातार हिँडेर उक्त शरीर यमलोक पुग्छन् । यसरी यमलोक जाँदैगर्दा उसले सोह्र वटा पूरहरू पार गरेर जानुपर्ने हुन्छ।
९. ती सोह्रपूरहरूको नाम यस प्रकार रहेका छन्– सौम्य, सौरिपूर, नगेन्द्रभवन, गन्धर्व, शैलागम, क्रौँच, क्रूरपूर, विचित्रभवन, ब्रह्मापाद, दुःखद, नानान्क्रदपूर, सुतप्तभवन, रौद्र, पयोवर्षण, शीतढ्य र बहुभीति। यी सोह्र पूरहरू पार गरिसकेपछि अगाडि यमराज पूरी आउँदछ। यसरी धर्म र पापको फल सँगसँगै भोग्दै यमदूतको पाशोमा बाँधिएर हाहाकार गर्दै आफ्नो घर छोडेर आत्मा यमराजपूरी पुग्दछन्।