नेपालजस्तो खुल्लापन नआइसकेको समाजमा यौनबारे छलफल गर्न गाह्रो छ । वीर्य स्खलनको कार्य चरणबद्ध रूपमा हुन्छ । यसका लागि यौनेच्छा जाग्नुपर्यो, यौनांग उत्तेजित हुनुपर्यो । अनि मात्र उत्तेजित लिंगबाट स्खलन सम्भव हुन्छ । त्यसो त सामान्य पुरुषको निद्रावस्थामै पनि चारदेखि आठ पटकसम्म आफसे आफ यौनांग उत्तेजित हुन्छ ।
कहिलेकाहीँ कसैसँग संसर्ग गरेको सपनाले निद्रामा नै स्खलन पनि हुन्छ । यौनांगमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
पुरुष यौनांग बेलुनजस्तै हो । बेलुनमा हावाको चाप राखेपछि ठूलो हुँदै आएजस्तै पुरुष यौनांगमा पनि रक्तप्रवाहको चाप ९प्रेसर० बढ्यो भने यौनांगमा रहेका सिगार आकारका बनावटमा अल्पकालीन रूपमा रक्तप्रवाह थुनिन गई यौनांग कडा र लामो हुन्छ ।
जब मानिसको मनमा यौनेच्छा जाग्छ, तब यौनांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फर्काएर लाने शिरा खुम्चिन्छ । यसको परिणाम स्वरूप यौनांगमा पर्याप्त मात्रामा चाप पैदा भई यौनांग लामो र कडा हुन्छ ।
यदि यौनांगमा रगत ल्याउने धमनी राम्ररी खुल्न सकेन भने यौनांग उत्तेजनमा आउनै सक्दैन र मानिस यौन दुर्बलताको शिकार हुन्छ । वृद्ध अवस्थाले छुन थालेपछि यौनांगमा रक्तप्रवाह गर्ने नली (धमनी) पर्याप्त मात्रामा खुल्ला हुन सक्दैन ।
भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ ।
यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो ।
यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो । सन् १९८३ मा अमेरिकामा भएको मूत्ररोग विशेषज्ञहरूको जमघटमा डा। गिलेस विन्डलेले आफ्नै यौनांगा फेन्टोलेमाइन नामक सुई लगाई स्टेजमा आए र सबैको सामु पाइन्ट फुकालेर औषधिले पनि यौनांगलाई उत्तेजनामा ल्याउन सकिन्छ भन्ने कुरा प्रमाणित गरी देखाइदिए ।
सन् १९८० को मध्यताका यौन दुर्बलताका रोगीले भटाभट आफ्नो यौनांगमा सुई हान्दै अस्थायी तवरले आफ्नो पुरुषत्व फर्काउने गर्थे । तर, सन् १९९८ देखि मुखबाट खान मिल्ने गरी ट्याब्लेटको आकारमा विकसित भियग्राले त्यत्तिकै प्रभावकारी काम गरेर धेरै सजिलो बनाइदियो । र, फेन्टोलेमाइनले तुरुन्तै र अनियन्त्रित रूपमा यौन उत्तेजना ल्याउँथ्यो भने भियग्राको असर कुनै व्यक्तिले यौनेच्छा प्रकट गरेपछि मात्र देखिन्थ्यो ।
दुई दशकअघिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भियग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी अपेक्षित मोटोपना ल्याउँछ । भियग्राले यौनेच्छा, यौन क्षमता, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ ।
लामो समयसम्मको विमानयात्रापछि हुने जेट ल्यागबाट छुट्कारा पाउन भियग्राले मद्दत गर्छ भन्ने तथ्य पत्ता लगाएका कारण सन् २००७ मा अर्जेन्टिनी टोलीले हवाई क्षेत्रको नोबेल पुरस्कार पाए । भियग्राको सेवनले मांसपेशीमा रगत प्रवाह बढाउँछ भन्ने गाँठी कुरा थाहा पाएर एथलेट ९खेलाडी०ले पनि आफ्नो प्रदर्शन उकास्न भियग्राको सेवन गर्ने गरेका छन् । फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको छ ।
मधुमेह एवं उदासीबाट ग्रस्त बिरामीमा रोग वा त्यसका लागि प्रयोग गरिने औषधिका कारणले पनि उत्पन्न हुने यौन दुर्बलतालाई निराकरण गर्न यसको उपयोग भइरहेको छ ।
यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टाअगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ ।
धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् । बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ । उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन ।
यस्तो अवस्थामा भियग्राले नकारात्मक असर बढाउँछ । मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियग्रा सेवन गर्नै हुँदैन ।