काठमाण्डाै०८जेठ०७५/ रैराङ हाइड्रोको साधारण सेयर बुधबार बाँडफाँड हुने भएको छ । गत फागुन ११ देखि सिआस्वा पूर्ण कार्यान्वायनमा आए पनि आवेदन रद्द हुने क्रम रोकिएको छैन । जसका कारण कतिपय लगानीकर्ता सेयर बाँडफाँड प्रकृयामा समेत सामेल हुन नपाउने भएका छन् ।
गत बैशाख ३१ गते सोमबारदेखि निष्काशन भएको हाइड्रोको सेयर बाँडफाँड अपेक्षित समयभन्दा ढिलो गरी हुन लागेको हो । यस अघि आरम्भ माइक्रोफाइनान्सको साधारण सेयर ३७ घण्टामा बाँडफाँड भए पनि सिआस्वाको सफ्ट्वेयरका कारण ५ कार्य दिनमा मात्र हाइड्रोको सेयर बाँडफाँड हुन लागेको हो ।
गत बिहीबार हाइड्रोको सेयर निष्काशन बन्द भएकोमा सिआस्वाको अनलाइन सफ्ट्वेयरमा पटक पटक डिस्कनेक्ट हुने समस्या आए पछि भेरिफाइ भएका आवेदन अनभेरिफाइड भएका थिए । यही समस्यालाई हेरेर धितोपत्र बोर्डले केही दिन अघि मात्र केन्द्रिय निक्षेप प्रणालीलाई सिआस्वा प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।
सिआस्वा कार्यान्वायनमा आए पनि सेयर आवेदन रद्ध हुने क्रम राेकिएकाे छैन । रैराङको साधारण सेयरमा कुल १ लाख ७५ हजार ४ सय ७२ वटा आवेदन परेका छन् । जसमध्ये १ सय ९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उल्लेखित कुल आवेदकबाट १ करोड ३५ लाख ८८ हजार ३६० कित्ता सेयर माग भएकोमा १२ हजार ७ सय ६० कित्ता सेयर माग भएको १ सय ९४ आवेदन रद्द भएको हो । उनीहरुलाई सेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइने क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख रुपैंया बराबरको सेयर निष्काशन गरेको थियो । जस अनुसार ७६ हजार ४ सय ४० जनाले १० कित्ताका दरले सेयर पाउने छन् । हाइड्रोले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ७ लाख ६४ हजार कित्ता सर्वसाधारण र बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।