0 COMMENTS

शायद यो मेरो जीवनको एक स्वर्णीम यात्रा हुनेछ । मेरो स्थायी घर काठमाडौँ हो । म कल्पनामा रमाउँदै थिएँ । एउटा मिठो कल्पना जसमा म थिएँ , मेरो परम् मित्र सुनिल र साथमा थियो रारा तालको उल्लासमय वातावरण । उसमा मजत्ति यात्राको तृष्णा शायदै थियो होला तर ऊ हर्षित नै देखिन्थ्यो । म बनाउँदै थिएँ सपनाको ताजमहल । यदी शाह जाहान जिउँदो थिए त मेरो ताजमहल अगाडि नतमस्तक भइदिन्थे । म र मेरो मित्र सुनिल रारा यात्राको लागि हवाइजहाजमा जाने भएका थियौँ । म एउटा पिँजडाबाट फुत्किएको त्यो चरी बन्दै थिएँ जसको अब अनन्त आकाश नै घर हुनेछ । अब त्यो चरीलाई बाँध्ने त्यहाँ न त कुनै कडी नै छ न त कुनै पिँजडा नै । म निर्धक्क घुम्नेछु रारा ताल । मैले अठोट गरेँ ।

सर्वप्रथम हाम्रो यात्रा रारा राष्ट्रिय निकुञ्जको थियो । त्यहाँसम्म हामी हवाईजहाजमा गयौँ । तत्पश्चात पैदल यात्रा गर्दै हामी होमस्टेको लागि रारा तालको फलामे पुलभन्दा १० मिनट जति टाढा रहेको एक सानो तर सुन्दर होमस्टेमा पुग्यौँ । म मानौँ भर्खरै प्रसव वेदनाबाट छुटकारा पाएकी आमा सरह भएको थिएँ । मेरो साथी भन्दै थियो, “देखिस् त बाबु रारा ताल । ” मैले केवल हो भन्नको लागि टाउको हल्लाएँ । ऊ भन्दै गयो, ” तँलाई भन्या होइन । पत्ताको थिनस् नि होइन खुबै । था पाइस् रारा ताल कति राम्रो रहेछ त । ” म निर्निमेष रुपमा उसलाई हेर्दै गएँ । तत्पश्चातका उसका बोलीहरु मानौँ शूल बनि मेरो मन र मस्तिष्कलाई घोच्दै थिए । म फगत् एउटा कठपुतलीको रुपमा उसका कर्कश ध्वनिहरु सुन्दै गइरहेको थिएँ । ऊ भन्दै थियो, ” हेर् न देख्दा खेरी त यो ठाम साँच्चै नै स्वर्ग जस्तो छ नि तर वास्तविकता हेर् न यार । हालत देखेर त आँफैदेखि घृणा जागेर आउँछ । तर के गर्नु र खोई………..। “मेरो सपनाको ताजमहलले अब ताजको भ्रूणहत्या गरीदियो र सँग सँगै महलले “ह”को भ्रूणहत्या । अब मेरो सपनामा शेष थियो त केवल “मल” । सोचेँ वास्तवमा म कता छु त ?[view_video url=”Q0yjSdrZosw”]

दिउँसभरिको हिँडाइको थकानले हाम्रो हात खुट्टा मानौँ पारालाइस भएका थिए । हामी छिट्टै सुत्यौँ । तर रातभर चिसो सिरेटोले हाम्रो सहरको खोक्रो शरीरलाई निस्फिक्री खेलबाड गरिरह्यो । तर हामीसँग विकल्प थिएन । त्यो चिसो सिरेटोलाई नै राराको आनन्द मान्दै हाम्रो रात कट्यो । एकाबिहानै होमस्टेका मालिक हामी कहाँ आएर सोध्दै हुनुहुन्थ्यो “हजुरलाई केहि गाह्रो त भएन नि?” उहाँको औपचारिक प्रशनको मान राखिदिनुमा नै मैले आफ्नो बुद्धिमानी ठानेँ किनकी त्यस ठाउमा पाइने सबैभन्दा राम्रो होमस्टेमा गनिन्थ्यो त्यो होमस्टे । मैले व्यङ्ग्यात्मक पारामा भनेँ “अँ सबै ठिकै थियो । झनै रातभरिको चिसो हावाले मलाई त पुरै काउकुती लगाइरह्यो । यी हेर्नुस् त अझै सम्म मेरा हातका काँडाहरु ताजै छन् । राराको उपहार साँच्चै नै अनुपम रहेछ नि ?

शायद मेरो व्यङ्ग्यात्मक भनाइले उहाँलाई आघात पर्‍यो होला । उहाँले भनिहाल्नुभयो “हेर्नुस् अब यस्तै छ हाल । जति गरे नि यस्तै हो हजुर । खान लाउनकै दुःख छ अब छोराछोरी नि पढाउनु नै पर्‍यो । फेरी स्कुलको हालत त्यस्तै छ । शिक्षकहरु पनि कस्ता हुन्छन् । “

“हरे बाबा खाली सबैलाई त्यही एउटै कुरा सुनाउनु हुन्छ हँ । याँ कसैले केहि गर्दैन क्या । कति भन्नु हो तपाईँलाई । बरु तपाईँहरुलाई घुम्न जान ढिला भयो होला । आउनुस् तल खाजा तयार छ ।”ऊ शायद त्यस होमस्टेका मालिकको छोरो हुनुपर्छ । हामी दुवै चकित मुद्रामा एकआपसलाई हेर्दै थियौँ । हामी केहि पनि नभनी तल खाजा खानको लागि हिँड्यौ । मैले अठोट गरेँ अब हामी राराको वास्तविकता थाहा नपाई घुम्न जाने छैनौँ । मेरो अठोटमा सुनिलले आफ्नो सहमति जनायो ।

हामीलाई खाजा खान दिएर होमस्टेको मालिकका छोरा देवीकृष्ण रोकाया आफ्ना कार्यमै व्यस्त भए । यता हामीले आफ्नो काम गर्न तर्फ लाग्यौँ । हामीले ती होमस्टेका मालिकलाई बोलायौँ र रारा क्षेत्रको बारेमा केहि प्रश्न सोध्न मन लागेको कुरा भन्यौँ । होमस्टेको मालिकको नाम धनसिंह रोकाया रहेछ । उहाँले आफू यस क्षेत्रमा विगत ५० वर्षदेखि बस्दै आएको र यसबिच यस ठाउँमा त्यस्तो उदाहरणीय परिवर्तन नभएको बताउनुभयो । यस अवधिमा राजा महेन्द्र देखि हालसम्म थुप्रै नेताहरुले आश्वासनका समवेदनाहरु पोखेका तर विकासका कार्यले कुनै पनि गति लिन नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “सबैजना यहाँ केवल आफ्ना मिठो बोलीले आफूलाई नै लायक छु भनेर दाबी गर्छन् तर वास्तवमा यहाँ गर्छु नै भन्ने चै कोही निस्केनन् । तै भर आफ्ना वेदना पोखेर मलाई पुनः पीडित हुनु छैन । तै पनि सोध्नुस् न के सोध्न मन छ हजुरहरुलाई ।” धनसिंहजी राराको वेदना पोख्दै थिए तर कता कता मलाई लाग्यो नेपाल आमा आफ्नो अस्तीत्त्वको माग गरिरहिछन् । अनि गम्भीर भएर आफ्नो प्रश्न राखेँ “बुवा यहाँको वास्तविक समस्या के हो?

बुवा अलिक भावुक रुपमा आफ्नो उत्तर राख्दै हुनुहुन्थ्यो “हेर्नुहोस् समस्या केलाउँदै जाने हो भने त तपाईको उमेरभन्दा पनि बढी छन् समस्याहरु तर के गर्नु समाधान भने शून्य र त्यही शून्यताको प्रतीक हो हाम्रो गाउँ – मुर्मा । रारा तालबाट करिब १५ मिनटको हिँडाइ पछि तपाई यस गाउँमा पुग्न सक्नुहुन्छ । गाउँभन्दा विकट अरु कुनै शब्द छ भने हाम्रो गाउँ त्यै हो । यो गाउँ रारा नगरपालिकाको वडा नं ९ मा पर्छ । तर विडम्बना छ बाबु । न खान राम्ररी पाइन्छ नै न त यहाँ शिक्षाको नै राम्रो स्थिति छ । अब भन्नुहोस् बच्चाहरुलाई पढाउने कि आफू बाँच्ने । अब खाई नखाई गरेर पढ्नको लागि भनेर पठायो । सरले त पढाउँदै पढाउनुहुन्न भनेर छोराछोरीहरु गुनासो पोख्छन् ।”बिचमै सोधेँ “अनि बुवा त्यहाँ सरकारी शिक्षक छन् होइन र ?” बुवाले जवाफ दिँदै भन्नुभयो “के सरकारी भन्नु सब कामचोर छन् । सर राम्ररी पढाउनुहोस् न भन्दा तपाईँ चुप लाग्नु न । तपाईँ शिक्षक कि म भनेर ठाडो जवाफ लाउँछन् । के गर्नु खोई अब गाउँमा कोही पनि पढेलेखेका छैनन् । गर्न पनि के सकिन्छ र । अब एउटा मात्र समस्या भए पनि हो भन्नु । त्यस्ता समस्या त कति छन् कति । अब दोष पनि कस कसलाई लाम् । निकुञ्जका पशुपन्क्षी आएर बाली नाली नष्ट पार्छन् । उसै त बाली थोरै हुन्छ त्यसमा पनि सब बाली नष्ट हुँदा के खानु के खानु हुन्छ । यस्तै बाटोको समस्या पनि छ ,पर्यटनको पनि राम्रो व्यवस्था छैन । यस्तै छ यहाँको समस्या । अस्ती एक जना नायिकाले पनि आश्वाशन दिएर जानुभएको छ । अब यो बाहेकको दुरावस्था त तपाईहरुले देख्नुभएकै छ ।”

मैले फेरी प्रश्न गरे बुवा होजो आए देखि मोबाइल चार्ज गर्न खोजेको कता लगाउने हो ? उहाँले मेरो यो प्रश्न सुन्ने वित्तिकै जवाफ फर्काए के गर्नु हुन्छ बाबु यहाँ त बत्ति नै छैन खोइ बिद्युत ल्याउनको लागि हामीले धेरै पहल गर्यौँ तर सरकारको ध्यान कहाँ छ र यस ठाउँमा । हामी त सँधै टूकीको भरमा जिन्दगी चलाउँछौँ । बिजुली ल्याउनुपर्छ भनेर धेरै जनाले आश्वशन पनि दिएर जानु भयो तर कहिल्यै मुहार फेरिएन हाम्रो यो गाउँको । त्यतिकैमा उहाँले फेरि भन्नुभयो तपाई बिजुलीको कुरा गर्नुहुन्छ यहाँ मान्छे बिरामी भयो भने खानलाई औषधि त पाइँदैन । गाउँको हेल्थ पोष्ट गयो भने औषधि राख्ने र्‍याक मात्र छ औषधिको नाममा सिटामोल समेत पाइँदैन । कुनै दिन पाइहाल्यो भने पनि एक गोली सिटामोलको १० रुपैँया पर्छ कसरी सक्नु औषधि किनेर भन्नुस् त तपाईहरु नै । कोहि बिरामी भएर हेल्थ पोष्ट लग्यो भने काठमाडौँ लग्नुहोस् यहाँ उपचार हुँदैन भनेर भन्छन् डाक्टरहरु । काठमाडौँ लग्न विमानस्थल लग्यो हवाइजहाज भनेको समयमा आउँदैन । कयौँ पटक त विमानस्थलमा कुर्दा कुर्दै कति बिरामीको ज्यान समेत गएको छ यहाँ । सम्झिँदा पनि आँशु आउँछ ।

धनसिंहजीको पीडा सुनिरहँदा मेरो ताजमहल कति पल्ट लड्यो कति मैले गनिनँ । मेरो पखेटा काटिएझैँ अनुभव भयो मलाई । तै पनि आफूलाई सम्हालेँ । लाग्यो नेपाल धेरै विकट रहेछ । उनको कुरा सुनेर हामीलाई पनि अब राराको लागि केहि सहयोग गर्नै पर्छ जस्तो लाग्यो । त्यसैले अब हामीले मुर्मा गाउँको विकासको लागि आफ्ना हात अघि बढाइसक्यौँ । यस लेख पढ्नु हुने सबैलाई पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।