0 COMMENTS

काठमाडौँ, १ जेठ०७५/  सिन्डिकेट अन्त्यसँगै सरकारले काठमाडौंमा अत्याधुनिक बस चलाउन सहयोग गर्ने भएको छ।

नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ ठूला एवं अत्याधुनिक बस एक साताभित्र सञ्चालनमा आउनेछन्।बस सेवाका लागि कोषले नमुनाका रूपमा दुईवटा रुटमा अध्ययन गरेको छ। पहिलो चरणमा बालाजु–नयाँ बसपार्क-सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगलसम्म चलाइनेछ।

ती रुटका ६१ टेम्पो तथा माइक्रोबस भने विस्थापित हुनेछन्। तिनका सञ्चालकलाई विशेष राहत प्रदान गर्दै उनीहरूकै संलग्नतामा कम्पनी खोली बस चलाउन लागिएको हो। तर ती टेम्पो तथा माइक्रोले सार्वजनिक यातायातका रूपमा चल्न पाउनेछैनन्।

सार्वजनिक यातायातलाई दीर्घकालीन, प्रविधिमैत्री र वातावरणमैत्री बनाउने जनाउँदै कोषले ५२ सिटे ठूला बसमा सहयोग गर्न लागेको हो। कोषका अध्यक्ष ध्रुव रिजालका अनुसार यस प्रयोजनका लागि दिगो सार्वजनिक यातायात प्रालि नामक कम्पनी स्थापना गरिएको छ।

उक्त कम्पनीलाई कोषले ९५ प्रतिशत सहयोग उपलब्ध गराउनेछ, त्यसमध्ये ८० प्रतिशत ऋण र १५ प्रतिशत अनुदान हुनेछ।

काठमाडौं दिगो सहरी यातायात आयोजना (केएसयूटीपी) अन्तर्गतको सार्वजनिक यातायात सुधार कार्यक्रमले उपत्यकाका दुई रुटमा ठूला बस चलाउन १ वर्षअघि सम्भाव्यता अध्ययन गरेको रिजालले बताए। विभिन्न चरणमा यी रुटमा गाडी चलाउने तयारी भए पनि सिन्डिकेट हटाएको माहोलमा प्रक्रियालाई तीव्रता दिइएको हो।

‘बाँकी ५ प्रतिशत गाडीधनीले सम्पत्ति देखाउनुपर्छ,’ उनले भने, ‘८ वर्षका लागि ५ प्रतिशत सहुलियत ऋणमा लगानी गरिदिन्छौं, कुनै गाडीधनीले विस्थापित हुनु पर्दैन।’ त्यसपछि गाडीधनीले नै यी सवारीको स्वामित्व पाउनेछन्। ‘जति पैसा उठ्छ, पहिले बैंकले नगर कोषको खातामा ट्रान्सफर गर्छन् अनि मात्र कम्पनीले बाँकी पैसा चलाउन पाउँछन्,’ अध्यक्ष रिजालले भने।

कोषमा आएको पैसा पुन: दिगो सार्वजनिक यातायातकै क्षेत्रमा खर्च गरिने उनले बताए। ‘प्रदूषण न्यूनीकरणका लागि ठूला युरो फोर मापदण्डअनुसारका बस सञ्चालनमा ल्याउन लागेका छौं,’ उनले भने, ‘नमुनाका रूपमा सफल भएमा अन्य नगरपालिकामा पनि लागू गर्छौं।

अपांगमैत्री, प्रविधिमैत्री यी बसमा वाइफाई, जीपीएस पद्धति तथा ई-टिकेटिङको व्यवस्था गरिनेछ। विभिन्नि स्थानमा बस स्टेसनसमेत बनाइने कोषका कार्यक्रम प्रमुख सुमनमेहर श्रेष्ठले बताए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।