0 COMMENTS

1लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ ।

“ओई राधा ! चिनिनौ मलाई ? के ट्वाल्ल परेकी ?” साँच्चै, एकछिन त ट्वाल्ट्वाल्ती हेरिरहें आँखै नझिम्क्याई । विश्वास गर्नै गारो पर्यो मलाई तिनै दिदी हो भनेर । (नाम र ठेगाना गोप्य राखिएको छ)

उनको मुहारमा सदाबहार चम्किरहने मीठो मुस्कान देख्दा कहिलेकहिँ त खुब डाहा लाग्थ्यो मलाई । कति सुखी र खुशी मान्छे ! तनावले गिदी तातिएको बेला यिनै दिदीलाई सम्झेर बिस्तारै चिसिन्थें म ।

साँच्चै, सधैँ खुसी र सुखी देखिन्थिन् दिदी । तनको जति सुन्दरी मनको त्यतिकै कोमल थिइन् उनी । सबैलाई आफू जस्तै सम्झन्थिन् । दायाँबायाँ नसोची विश्वास गरिहाल्थिन् ।

विगतमा जस्तै कफी पिउँदै गफिन मन लाग्यो । तर दिदीले मानिनन् । निकै कर गरेपछि बल्लतल्ल कफी पिउन राजी भइन । मुखबाट शब्द निस्कनु अघि आँखाबाट तप्प तप्प आँसु पो झारिन् दिदीले । असमन्जसमा परेँ म । कफी पिउन कर गरेर गल्ती गरेको महशुस भयो ।

निकैबेरको रूवाईपछि सम्हालिदै भनिन्- “राधा ! यस समाजमा छोरी भएर जन्मनु अपराध रहेछ । दलितको कोखबाट जन्मनु अभिशाप रहेछ ।”

“के भयो र दिदी ?” मेरो प्रश्नको जवाफ फेरी आँसुले दिन थालिन् । ओहो ! के भन्नु । कस्तो संकट ? बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो ।

“भन्नुस् न दिदी ! के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ।” यतिन्जेलमा कफी आइपुग्यो ।

“सब बर्बाद भो बहिनी बर्बाद । लोग्नेमान्छेको जात साँच्चै स्वार्थी हुँदोरहेछ । भवँराजस्तै । जुन फूल राम्रो देख्यो त्यसैलाई चुस्दै हिँड्ने । आखिर मेरो के दोष थियो र ? चुस्न जति चुसेर बीच सडकमा अलपत्र छोडिदियो मलाई ।” दिदीको अनुहारमा कठोर धर्साहरू देखिन थाले ।

“कस्तो प्रेमको नाटक गर्न जानेको ? त्यसलाई थाहा थिएन र म दलितकी छोरी हुँ भनेर ? गरिबकी छोरी हुँ भनेर ? त्यसले जति पढेकी छैन भनेर ?२१ औं शताब्दीमा जात केही होइन भन्यो । प्रेममा धनी-गरिब केही हुँदैन भन्यो । तिम्रो लागि घरपरिवार सब त्याग्छु भन्यो । तर अहिले मलाई त्यागेर गयो । पापी ! अधर्मी !!”

“अनि अहिले के गर्दै हुनुहुन्छ त ?” नचाहँदा नचाहँदै पनि दिदीको घाउ कोट्याउन मन लाग्यो ।

“के गर्नु र ? काल पर्खदैँ छु ।”

“शरीर पनि यस्तरी बिग्रिएछ…।”

“बिग्रदैंन त ? दुईचोटि त जबरजस्ती एबोर्सन गराए पापीले । आखिर मलाई धोका दिनलाई रहेछ । कोठाभाडा तिर्न नसकेर गार्मेन्टमा काम गर्न थालें । त्यहाँ पनि कहाँ कम थिए र गिद्दहरू ? एकजनाले जबर्जस्ती लुछ्न खोजेपछि त्यहाँ काम गर्नै छाडिदिएँ ।

गाउँमा नआऊ भने । मैले पोल खोल्छु भन्ने डरले होला । फेरि गाउँ जान पनि मन लागेन । घरबेटीले कोठाबाट निकालिदिए । पछि मकै पोलेर बेच्न थालेँ । केही समय त सडकमै सुतेँ । उता गाउँमा फलानी पोइल गइछ, लोग्नेले छाडेपछि बेश्या भइछ भनेर हल्ला पिटाएछन् । कति सहनु राधा अत्याचार पनि ?” लामो सुस्केरा फालिन् दिदीले ।

“गाउँमा गएर त्यस पापीलाई पाता फर्काउनुपर्छ अब ।” आवेगमा बोलें म ।

“भैगो बहिनी । सम्भव छैन अब त्यो । गाउँमा मलाई बेश्यामा दर्ज गरिसके । अब मेरो कुरा कसैले सुन्दैन । उल्टै सबै मिलेर मलाई नै खेद्छन् त्यहाँ । यो जुनीमा न्याय पाउने आश छैन मलाई । किनकि म दमिनी हूँ । गरिब र अवला छु । यो समाज म जस्ताको पक्षमा बोल्छ र? भैगो राधा, अब मलाई बाँच्ने इच्छा छैन ।”

दिदीको कुराले एकक्षण त म स्थिर भएँ । फूलजस्ती दिदीको बैंस चुस्ने भवँराको कथित भलादमी ब्यक्तित्व सम्झेर घृणा र आक्रोश एकसाथ बढेर आयो । दिदीको कुरा जतिजती सुन्दै गएँ त्यतित्यती छात्तीभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै गयो । सारै उकुस मुकुस भयो ।

बाहुनको छोरो । पढेलेखेको मान्छे । गाउँघरको हुनेखाने । त्यति मात्रै हो र ? अरूलाई शिक्षा दिने शिक्षक । ओहो ! कसरी सकेको होला यस्तो अपराध गर्न ? अपराध गर्ने अपराधी अहिले पनि समाजमा सम्मानित जीवन बाँचिरहेको छ । तर, बिचरी दिदी यही समाजमा बेश्याको कलंक बोकेर मृत्यु पर्खिरहेकी छ । प्रश्न छ मेरो यस समाजलाई- “एउटी अवला नारीलाई न्याय दिलाउन सक्छौ समाज ?”

कथित भलादमीलाई त्यतिबेला केही चाहिएन । केवल दिदीको बैंसभन्दा बाहेक । अहिले सब चाहिन्छ रे ! जात, बर्ग, शिक्षा, इज्जत… सब थोक । दिदीलाई बिबाह गर्दा उसको जात जान्छ रे ! बर्ग मिल्दैन रे ! इज्जत,प्रतिष्ठा खतम हुन्छ रे ! जबरजस्ती विवाहका लागि बाध्य पारे ऊ पनि मर्छ रे दिदीलाई पनि मार्छ रे ! यस्ता अपराधी ऊ त किन मर्छ र ? आफ्नो अपराध लुकाउन दिदीलाई चाहिँ मार्न सक्छ । त्यही डरले दिदीले सत्य कुरा सार्बजनिक गर्न पनि सक्नुभएको छैन । सम्झदा पनि शरीरभरि काँडा उम्रिएर आयो ।

यो कस्तो समाज ? पुरूषको मात्रै हुन्छ इज्जत ? कथित उपल्लो जातको मात्रै हुन्छ प्रतिष्ठा ? धनी र पढेलेखेकाहरूको मात्रै हुन्छ मर्यादा ?संविधानमा लेखिएको शब्दले समाजमा खोइ के परिवर्तन आयो ? आज पनि समाजमा महिलामाथि अन्याय, शोषण, उत्पीडन कायमै छ । दलितहरूमाथिको छुवाछुत र सामाजिक विभेद जस्ताको तस्तै छ । गरिबहरू हेपिएका हेपिएकै छन् ।

गाउँघरमा थाहा पाउलान् भनेर काठमाण्डौंमा कोठा खोजेर राख्दा र लामो समयसम्म कोठामा स्वास्नीको ब्यवहार गर्दा उसलार्इ केही अप्ठेरो भएन । उनको जात गएन । तर, अहिले दिदी अछुत भइन् । दिदीले छोएको पानी उसलाई नचल्ने भयो । हाय ! हाम्रो समाज । जवानी चल्ने पानी नचल्ने !

दलित हुनु अपराध हो ? राम्री हुनु अभिशाप हो ? यदि होइन भने किन आज मृत्यु खोज्दै काठमाण्डौंको सडकमा भौतारिन वाध्य छिन् यी दिदी ?हो, पक्कै पनि दिदीको पनि कमजोरी छ । पापीले बिछ्याएको पासोलाई पवित्र प्रेम सम्झेर स्वीकार गर्नु उनको कमजोरी नै हो । तर, अपराध भने पक्कै होइन ।

एउटी नारीले विश्वासमा नै पुरूषलाई आफ्नो सर्वस्व सुम्पन्छिन् । आखिर संसार विश्वासमै त चलेको हुन्छ । विश्वास गरेर सर्वस्व सुम्पने नारीलाई पुरूषले विश्वासघात गरेभने बेश्याको बात लाग्ने । तर, त्यो विश्वासघाती पुरूषचाहिँ प्रतिष्ठित भइरहने ?

अपराध गर्ने पुरूष अनि अपराधी करार हुनु पर्ने चाहिँ महिला ? कसरी सहन सकिन्छ यस्तो अन्याय ? तर, बिडम्बना ! हाम्रो समाजमा यस्तै भइरहेको छ ।

नारी र पुरूषबिना श्रृष्टिको निरन्तरता सम्भव छैन । यो सार्वभौम सत्य हो । सार्वभौम सत्यलाई शब्दमा मात्र स्वीकार गर्दासम्म यो संसार सुन्दर बन्न सम्भव छैन । शब्द र कर्मको साम्यताले नै सुन्दर संसारको रचना सम्भव छ । निश्चय नै समाजमा सबै पुरूष खराब र सबै महिला असल हुँदैन । तर, हाम्रो समाज पुरूष प्रधान भएको कारण महिलामाथि पुरूष-सत्ता हावी छ । यो हाम्रो समाजको तीतो यथार्थता हो ।

समानताको नाममा समाजमा विकृति बढ्ने क्रम पनि जारी छ । असल संस्कारको अभावमा पुरूषप्रतिको वदलाभाव महिलामा बढिरहेको छ । हीनभाव र वदलाभावले समस्या सुल्झाउन भन्दा उल्झाउन सहयोग गर्छ । समभाव नै समस्या समाधानको सत्य-सूत्र हो । बदलाभाव बोकेर पुरूषलाई प्रताडित गर्दा क्षणिक आनन्द त प्राप्त होला तर समस्याको समाधान भने किमार्थ हुँदैन ।

प्रकृतिले मानवलाई मात्रै विशिष्ट प्रेमभाव प्रदान गरेको छ । विपरीत लिंगबीच हुने आकर्षणलाई मान्छेहरू प्रेमको रूपमा परिभाषित गर्छन् । जुन सत्य होइन । वास्तवमा साँचो प्रेममा स्वार्थ होइन केवल समर्पण हुन्छ; मृत्यु होइन केवल मुक्ति हुन्छ; बन्धन होइन केवल स्वतन्त्रता हुन्छ; प्राप्ति होइन केवल त्याग हुन्छ । कतिपय मान्छेहरूले प्रेमको नाममा पाप गरिरहेका छन् । यिनी दिदीमाथि पनि कथित भलाद्मीले प्रेमको नाममा गरेको पाप नै हो । पाप गर्नेले पापको सजाएँ पाउनै पर्छ । अन्यायमा परेकाले न्याय पाउनै पर्छ ।

र अन्य केही प्रसंग

बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर निर्घात पिटेर हत्या गरिएकी लक्ष्मी परियारले अझै न्याय पाउन सकेकी छैन । उनको आत्मा यतैकतै भडकिरहेको होला । लक्ष्मीले उनी दलित, गरिब र महिला भए वापत एकजना शिक्षकद्वारा पुरस्कार स्वरूप मृत्युदण्ड पाएकी थिइन् । लक्ष्मी दलित, गरिब र महिला नभएकी भए पक्कै पुरस्कार स्वरूप मृत्युदण्ड पाउने थिइनन् ।

केही समय अगाडि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गर्ल्स होस्टलमा ड्युटिमा रहेकी महिला सुरक्षा गार्डमाथि नेपालका एकजना प्रतिष्ठित कलाकारले यौन हिंसा गरेको समाचार बाहिर आयो । तिनी पीडित महिला पनि आर्थिक रूपमा विपन्न थिइन् । जसको कारण केही दिनपछि उक्त घटनालाई मिलापत्र गराइयो भन्ने थाहा भयो । समाजको डर देखाएर वा बिभिन्न प्रलोभनमा पारेर मिलापत्रको नाममा हाम्रा प्रहरीहरूले महिलाहरूलाई मृत्युपत्रमा हस्ताक्षर गराइरहेका छन् । अझ कतिलाई हस्ताक्षर गराउने हुन् । सायद त्यो कुरा भगवानलाई मात्र थाहा होला ।

अन्त्यमा

जहिलेसम्म कानुनका रक्षकहरू नै भक्षक हुन्छन् , तहिलेसम्म समाजमा न्याय स्थापित हुँदैन । जहिलेसम्म जात, वर्ग, लिंग, क्षेत्र, भाषा, धर्म, समुदाय आदिको नाममा मान्छेले मान्छेलाई गर्ने विभेदकारी ब्यबहारको अन्त्य हुँदैन, त्यहिलेसम्म समाजमा मानवीय मूल्य स्थापित हुन संभव छैन । त्यसैले मानवमूल्ययुक्त समाज निर्माणको लागि सबै मानव मिलेर एउटा नयाँ महाअभियान पो चलाउने हो कि ?

 हामीले याे लेख  समय सान्धर्भीक लागेर अनलाइन खबरबाट साभार गरेका हाै ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।