0 COMMENTS

कल्पना बोहरा, अछाम १५ बैशाख/लोपोन्मुख अवस्थामा रहेको नौ मुठे गाई संरक्षणको पहल भैरहेको छ । खासगरी सुदूरपश्चिमको अछाम जिल्लामा पाईने नौ मुठे गाईको संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय र कृषकहरु जुटेका छन् । कृषकहरुले संरक्षण गर्न थालेपछि जिल्लामा नौ मुठे गाईको संख्यामा वृद्धि भईरहेको पशु सेवा कार्यालय अछामले जनाएको छ ।

अछामी नौ मुठे गाईको प्रचार प्रसारसँगै संख्यामा पनि वृद्धि हुँदै गएको देखिन्छ । विश्वकै होचो नौ मुठे गाई लोप हुन थालेपछि यसको संरक्षणका लागि प्रयास भैरहेका छन् । नौ मुठे गाईको महत्व थाहा पाएपछि कृषकहरु समेत यसको संरक्षणमा जुटेका छन् । पाल्न सजिलो, पोसिलो दूध र धार्मिक महत्वका कारण नौ मुठे गाई पाल्न थालेको कृषकहरुको भनाई रहेको छ ।

कुनैपनि पोथी जीवजन्तु संसारमै एक हजार भन्दा कमको संख्यामा मात्रै रहन पुग्यो भने तिनलाई लोपोन्मुख अवस्थामा रहेको उल्लेख गरिन्छ । अछाममा नौ मुठे गाई पनि संसारमै एक हजार भन्दा कम संख्यामा रहेको एक अध्ययनले देखाएको छ । संरक्षणको प्रयास भएपछि नौ मुठे गाईको संख्या बढ्दै गएको जिल्ला पशु कार्यालय अछामको दावी छ । कार्यालयका अनुसार गाईको संख्या ३ सय ७८ बाट बढेर ४ सय ४७ पुगेको छ । साविकका ८ वटा गाविसमा मात्रै रहेका नौ मुठे गाई विस्तार हुँदै १५ गाविसमा पु¥याईएको छ ।

यो वर्ष पनि अछामी नौ मुठे गाईको तथ्याङ्क संकलन भईरहेको साँफेबगर नगरपालिका पशुसेवा शाखा प्रमुख पदमबहादुर थापा बताउनुहुन्छ । अछामी गाई अन्य जातको साँढेसँग क्रस गराउने प्रक्रियाले चुनौति थपिएको छ । अछामी गाईसँग ठूलो उन्नत जातको साँढेसँग क्रस गराउँदा वाच्छा÷वाच्छी ठूलो हुने हुँदा नौ मुठे गाई लोप हुने अवस्थामा पुगेको छ । जिल्ला वाहिरवाट ल्याउने साढेको वन्ध्याकरण गरेर मात्रै भित्र्याउने र अछामी गाईको साँढेसँग मात्र प्रजनन् गराउनको लागि कृषकहरुलाई सुझाव सल्लाह दिने गरेको शाखा प्रमुख थापाको भनाई छ ।

तर नौ मुठे गाईको संरक्षणका लागि निकै ठूलो चुनौती छ । यसको मुख्य समस्या भनेको गर्भधारण पनि हो । नौ मुठे जातको साढे बाहेक अन्यबाट गर्भधारण भयो भने क्रस हुने समस्या रहेको छ । यसलाई रोक्न संरक्षण अभियानलाई प्रभावकारी बनाउनको लागि सरोकारवालसँग छलफल गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।