सामान्यतया खुसी, रोदन, निराशा, उत्साह मानवीय स्वभाव हो । तर, आवश्यकभन्दा बढी खुसी वा निराश भइरहनेचाहिँ रोग पनि हुन सक्छ । अत्यधिक निराशापन एक प्रकारको मानसिक रोग हो । बायोलोजिकल, साइकोलोजिकल वा पारिवारिक कारणले मानिस निराश हुन सक्छ । तर, निराशापनको समयमै उपचार नगरेमा भने यसले ठूलो दुर्घटनासमेत निम्त्याउन सक्छ । यसरबारे सरला कट्टेलले डा. प्रदीप पाण्डेलाई सोधेकी छिन् :
धेरै निराश हुने, रमाइलो महसुस गर्न नसक्ने, सम्झन नसक्ने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी आउने, सधैँ नरमाइलो लाग्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने, निद्रामा गडबडी हुने, खाना खान मन नहुने स्वभाव भनेको निराशापनको लक्षण हो ।
त्यस्तै, कसैसँग बोल्न मन नलाग्ने, इच्छाशक्तिमा कमी आउने, हरेस खाने, केही गर्न सक्दिनँ भन्ने भावना आउने गतिविधि पनि निराशापनका लक्षण हुन् ।
निराशापन धेरै भएको व्यक्तिमा टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने हुन्छ । यस्ता व्यक्तिमा हलचल नगरी बसिरहने, खाना खाँदैनखाने वा बोल्दैनबोल्ने पनि हुन सक्छ ।
उपचार विधि
निराशापनको उपचार दुई तरिकाले गर्न सकिन्छ– पहिलो मेडिकलको प्रयोगबाट र अर्को परामर्श दिएर । मानिसमा बढी नै निराशापन भएमा उसलाई परामर्शले मात्र नपुग्न सक्छ । त्यस्तो अवस्थामा औषधिको नै प्रयोग गर्नुपर्ने हुन सक्छ । तर, निराशापन भएको लामो समय भएको छैन भने परामर्शले मात्र पनि पुग्न सक्छ । निराशापनको समस्याबाट मुक्ति पाउनका लागि विशेषज्ञ चिकित्सकको भने सहयोग लिनुपर्छ ।
यस्तामा निराशापन
दीर्घरोगी भएका व्यक्तिमा अत्यधिक निराशापन आउन सक्छ । यस्ता व्यक्तिको मनमा बारम्बार नकारात्मक भावना खेलिरहेको हुन्छ र मानिसलाई निराशापनतिर धकेल्छ ।
कतिपय मान्छे अति नै महत्वाकांक्षी स्वभावका हुन्छन् । आफ्नो क्षमताभन्दा ठूलो आकांक्षा राख्ने व्यक्तिमा पनि निराशापन आउन सक्छ ।
थाइराइडका रोगी र मुटुको सर्जरी गरेका व्यक्तिमा पनि निराशापन हुन्छ ।
दुर्घटनामा परेका, लागुऔषध सेवन गर्ने, इगो कन्ट्रोल गर्न नसक्ने वा दिमागमा न्युरोकेमिकलले राम्रोसँग काम नगर्ने व्यक्ति निराशापनको सिकार हुन्छन् । न्युरोकेमिकलले राम्रोसँग काम नगर्दा एउटाबाट अर्को नसामा खबर पु¥याउने प्रक्रिया रोकिन सक्छ र मानिसमा निराशापन छाउँछ ।
बच्नका लागि
यसबाट बच्नका लागि पहिला आफूभित्रको समस्या पहिचान गर्नुपर्दछ र यसको कारण पत्ता लगाउनुपर्छ ।
दैनिक योगा गर्ने बानीको विकास गर्दा पनि निराशापनबाट बच्न सकिन्छ ।
लामो समयसम्म मोबाइल चलाउने, साथीहरूसँग आफ्ना कुरा सेयर नगर्ने कारणले पनि निराशापन आउन सक्छ । त्यसैले, आफन्तसँग घुलमिल हुने, साथी बनाउने, सकारात्मक सोचको विकास गर्ने बानीले पनि निराशापनको ढोका बन्द गर्न सक्छ ।
नयाँ पत्रिकाबाट