मिलन चाम्लिङ,०७बैशाख०७५/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश नं १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा आर्थिक अनियमितताबारे चासो देखाएका हुन् । उहाँले ‘स्थलगत रूपमा गएर बुझ्ने प्रयास भइरहेको कुरा हामी संग बताउनु भएको छ । दुई दिनअघि मात्रै प्रतिष्ठान प्रशासनलाई फोन गरेर आफु आउनेबारे जानकारी गराएको थिएँ ।’ उहाँले प्रतिष्ठानका गतिविधिबारे आफुले स्थलगत रूपमै अध्ययन गर्ने र गलत भएको पाइए प्रक्रियाअनुसार कारवाही अघि बढाउने बताउनु भएको छ।
आन्तरिक कुराहरू बुझ्ने,निरीक्षण गर्ने र प्रक्रियागत रूपमा समस्या समाधान गर्ने प्रयासमा आफू रहेको उहाँको भनाइ छ । ‘प्रतिष्ठानमा भइरहेका गतिविधिप्रति मेरो ध्यानाकर्षण भएको छ । चाँडै त्यहाँको आन्तरिक पोजिसन बुझ्ने छु । उपकुलपतिलाई बोलाएर सबै कुराको जानकारी लिनेछु ।’ उनले भने पछिल्लो समय बीपी प्रतिष्ठानमा उपकरण खरिदमा भ्रष्टाचार तथा चार सय शैय्याको मातृशिशु भवन, दुई सय शैय्याको मुटु र दुई सय शैय्याको क्यान्सर अस्पताल निर्माणमा भ्रष्टाचार भएको आरोप लागेको छ ।
अझ आर्थिक वर्ष २०७२–०७३ मा १ दशमलव ५ टेस्ला एमआरआई खरिद गर्न टेन्डर आह्वान गर्दा करिब ६ करोड रूपैयाँ फरक पर्न आएकाले त्यसमा पनि भ्रष्टाचार भएको आरोप प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारमाथि लाग्दै आएको छ । किनकि सो एमआरआई मेसिन उपलब्ध गराउने ठेक्का पाएको हस्पिटेक इन्टरप्राइजेजले अन्य अस्पताललाई सोही उपकरण १२ करोड रूपैयाँमा उपलब्ध गराएको बताएको छ । सोही उपकरण १८ करोड रुपैयाँमा खरिद गर्न लागिएकाले आर्थिक अनियमितता हुन लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
यस विषयमा पनि मन्त्री जीवन घिमिरेले चासो देखाएका छन् । मन्त्री घिमिरेले मातृशिशु, मुटु तथा क्यान्सर अस्पतालको निर्माणाधीन भवनको काम किन रोकिएको हो भन्नेबारे पनि आफुले उपकुलपतिसँग जानकारी लिने बताउनु भएको छन।