काठमाडौं२८चैत ०७४/ यातायात व्यवस्था कार्यालय स्वयम्भूले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा राजधानीको गुर्जधारामा शुरु गरेको छ ।
नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा निःशुल्क ‘ट्रायल’ सेवा सुरू गरिएको हो । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
निःशुल्क ‘ट्रायल’ सेवा सुकेधारा, स्वयम्भू र भक्तपुरस्थित सल्लाघारी बाट पाइने विभागले जनाएको छ । एकान्तकुनामा रहेको सुजुकी सेन्टर वाहेक तीन स्थानमा निःशुल्क ट्रायल सञ्चालन आएका छन् ।
सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जस अनुसार सुकेधारा कार्यालयका लागि तीन, स्वयम्भूका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।
आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको हो । सुकेधारा र स्वयम्भूको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा पहिलो पटक २०३ जनाको ‘ट्रायल’ गरेको अध्यक्ष राजेश घिमिरेल जानकारी दिए ।
‘६ करोड लगानीमा निर्माण भएको अत्याधुनिक ट्रायल सेन्टर सरकारलाई र परीक्षार्थीहरूलाई ट्रायल दिन निशुल्क व्यवस्था गरिएको हो,’ भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधाराका सञ्चालक राम नारायण घिमिरेले बताए ।