0 COMMENTS

दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो। अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन्।

समान्यतयाः गर्दनको पछाडि (घिच्रो) र नितम्ब (चाक) बीचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ। मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशी लाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ। यस्तो दुखाई मेरुदण्ड मा जहाँ कहिँ पनि हुन सक्दछ। तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ। मांसपेशी कडा भए झैँ अथवा घाऊ भए झैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाई दुखेको ठाउँ बाट अन्यत्र सरे झैं अनुभव हुन्छ।

ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो। त्यसक्रममा ढाड वा नजीकको मांसपेशीमा असर परेर ढाडको समस्या शुरू हुन्छ।

कुर्सीमा बसेर बढी समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ। एउटै ‘पोजीसनमा’ बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ। ढाडलाई अफ्ठेरो गरेर राखिराख्यो भने मांसपेशी थाकेर ढाड दुख्छ।

पोजिसन ठिक भएन भने पनि ढाड दुख्छ। लामो यात्राको समयमा पनि यो समस्या आउँने गर्छ।

एउटै ‘पोजीशनमा’ २० मिनेटभन्दा धेरै बेर बस्दा पनि ढाड दुख्छ। जुनसुकै काममा एउटै ‘पोजिशनमा’ बस्दा ढाड दुख्छ। ढाडको अधिकांश समस्या मांसपेशी कमजोर भएर हुन्छ। नशा सम्बन्धी समस्याले पनि ढाड दुख्छ तर यो सम्भावना तीन प्रतिशत मात्रै हुन्छ।

ढाडको ‘मुभमेन्टलाई’ नियन्त्रण गर्न नसकेको बेलामा पनि मांसपेशी कमजोर हुन्छ। जसले गर्दा ढाड दुख्छ। यस्तो बेलामा दुखाई कम हुने औषधि खानुपर्छ। कम भइसकेपछि मांसपेशीलाई बलियो बनाउनुपर्छ। त्यसका लागि मांसपेशी सक्रिय हुनुपर्छ। कहिलेकाँही ढाडको समस्या किड्नीमा पत्थर परेर पनि हुन्छ। पेटको समस्या भयो भने पनि समस्या हुन्छ। तर यस्तो समस्या एकदमै कम हुन्छ।

हड्डी खिइने समस्याले पनि ढाड दुख्छ। हड्डी खिइएपछि पनि नशा च्यापिन्छ जसले गर्दा ढाड दुख्छ।

ढाड दुख्नु का कारणहरू :

शारीरिक एवम् चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड र जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु।

वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारण ले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्या ले ढाड दुख्न सक्छ। तेस्तै हड्डी को संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता आदि ले पनि ढाड दुख्न सक्छ।

पछाडिको मांसपेशीमा तनाव: जुन अत्यधिक भारोत्तोलन, भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीकाकारण हन्छ।

मूत्रनलीको समस्या: जस्तै मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा दुखाई हुन सक्दछ। गर्भावस्था, महिनावारीमा र महिनावारी पछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ।

ढाड दुख्ने नब्बे प्रतिशत कारणहरू यस्ता छन्।

‘अड पोजिशन’
एउटै ‘पोजिशनमा’ धेरै बेर बसेर
धेरै ‘जर्की मुभमेन्टमा’ बसेर
धेरै लामो यात्रा गरेर
धेरै गह्रौ भारी उठाउँदा
चिकित्सक कहाँ कति बेला जाने ?

धेरैजसो ढाडको दुखाई छोटो हुन्छ र घरेलु उपचार र दुखाई कम गर्ने औषधीबाट निको हुन्छ। तर निम्न अवस्थामा भने चिकित्सकीय सल्लाहलिनु जरुरी हुन्छ-

दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा। ज्वरांश र सामान्य विसंचो सँगै ढाड दुखेमा।

ढाडको दुखाई कडा भएमा, केही समय पछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा।

खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा।

यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा यो स्नायुगत समस्या वा उपचारको अवस्थाको कारण हुन सक्छ। जसको उपचार उचित तवरले गर्नुपर्दछ।

कसरी गर्ने उपचार

ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्दछ। ढाडको दुखाईको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे, सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ। उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु र हिडडुलमासहयोग पुर्‍याउनु नै हो।

दुखाई र जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन/सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ। तातो वाबरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन र दुखाई लाई कम गर्न सक्दछ।

जुन मांसपेशीमा दुखेको छ त्यसले ‘ल्याक्टिकेसिड’ निकाल्छ। यसलाई ठीक गर्छ। ‘मसल्सलाई रिल्याक्स’ गराएर दुखाई कम गराउनुपर्छ।

यदि नशा च्यापिएको छ भने अली बढी ध्यान दिनुपर्छ। नशा च्यापिएकोलाई अलि कडा खालको ‘स्टेरवाइडहरू’, दुखाई कम हुने औषधिहरू खानुपर्छ र ६ हप्तासम्म बेड रेष्ट गर्नुपर्छ। मांसपेशीमा मात्रै समस्या आएको भए भए दुई दिन मात्रै बेडरेष्ट गर्दा ठीक हुन्छ।

नशा च्यापिएको छ भने अरू समस्या पनि आउँछ। बेडरेष्ट लगातार गर्दा यसले ढाड दुखाईलाई निरन्तरता दिइरहन्छ।

६ सातामा पनि ठिक भएन भने सर्जरी नै गर्नुपर्छ तर यो सम्भावना निकै कम हुन्छ।

हड्डी खिइएर भएको हो भने हड्डी रगटिएर नशा निश्कने बाटो साँघुरो हुँदै जान्छ। नशा च्यापिएपछि नशाहरू खुम्चिन्छ जसले गर्दा मांसपेशी कमजोर हुन्छ। मांसपेशी कमजोर भएपछि बिरामीलाई दुख्छ।

दुखाई कम हुने औषधिले पनि ठिक भएन भने अल्ट्रासाउण्डसम्म गर्नुपर्छ। कहिलेकाँही किड्नीमा समस्या आएको पनि हुनसक्छ।

पत्थर छ कि पाठेघरमा समस्या छ कि भनेरसमेत ध्यान दिनुपर्छ। पिसाबमा केही समस्या छ कि परीक्षण गर्नुपर्छ।

कसैलाई स्थायी रूपमा ढाड पनि दुख्छ। यस्तो बेलामा बेलाबखत थेरापी गरिरहनुपर्छ। यो भनेको मांसपेशीलाई बलियो बनाउने नै हो।

नशा च्यापिने भनेको कुरकुरे हड्डी फुटेर पनि हो। अर्को हड्डी खिएर पनि हुन्छ। यो क्रोनिक खिइएर हुन्छ। यस्तो समस्या ६०/७० वर्ष कटेपछि मात्रै हुन्छ। तर कुरकुरे हड्डी फुट्यो भने युवा उमेरमा पनि यो समस्या हुन्छ। नशा च्यापियो भने खुट्टा झमझम हुन्छ। त्यो हुनु भनेको नराम्रोको लक्षण हो। यस्तो बेला कडा खालको औषधि समेत खानुपर्ने हुन्छ।

डाक्टरको निगरानीमा औषधि खानुपर्छ। औषधिले सुन्निएको कम गर्छ नशा सुन्नीएर साँघुरिएको भागलाई खुलाउने कामगर्छ। नशा च्यापिने कुरा कसैको नियन्त्रणको कुरा होइन। यो कुरकुरे हड्डी फुटेर पनि हुन्छ।नशा च्यापिएको छ भने दुखिरहन्छ। अर्को व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान नदिएर पनि हो।

मांसपेशी दुःखेको छ तर उसले वास्ता गरेन भने समस्या बढ्दै जान्छ। दुखाई बढ्यो दुई दिन औषधि खायो अनि मनपरी गर्‍यो, ढाडको व्यायम पनि गरेन भने त्यसले समस्या पार्छ।

फेरि दुई दिनमा ढाड दुख्छ फेरि औषधि खान्छ तर स्थायी समाधानको खोजी गरेको हुँदैन जुन गलत हो। यसका लागि औषधि खानुपर्छ दुई दिन ‘बेड रेष्ट’ र तीन दिन घरमै ‘रेष्ट’ गर्‍यो भने पाँचौ दिनमा ठिक हुन्छ। त्यसपछि ‘फिजीयोथेरापी’ गर्न सकिन्छ। तर दुखाई कम भएन भने भित्र के कारणले दुःखेको हो त्यो पत्ता लगाउनुपर्छ।

कुनै कारण पत्ता लाग्यो भने त्यसको औषधि गर्नुपर्छ तर मांसपेशी कमजोर भएर हो भने त्यही अनुसारको उपचार गर्नुपर्छ। नब्बे प्रतिशत भन्दा बढी कारण मांसपेशी कमजोर भएर नै हो।

यसलाई लापरबाही गरियो भने ढाड दुखिरहन्छ धेरै नै लापरबाही गर्‍यो भने कुरकुरे हड्डी फुटेर नशा च्यापिन जान्छ। ढाडको ‘सर्जरी’ बिरलै मात्र गरिन्छ। बिरामीले सहनै सकेन भने मात्रै ‘सर्जरी’ गर्नुपर्छ। यसको जटीलता आफ्नै ठाउँमा छ।

त्यसैले ढाड ओरिपरीको मासु बलियो बनाउनुनै राम्रो हो।

घरेलु उपचार :

भूईमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने र मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने।
मनौबैज्ञानिक तनाव र थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ।
ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा संचो हुन्छ। दुखाई मार्न मल्हमसँगै मालीसले पनिदुखाइमा काम गर्छ।
मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ र संचो हुन मद्दत पुग्दछ। मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा संचोहुन्छ। पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहुँदैन।
नरम तकिया सँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ।
यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधीप्रयोग गर्नुपर्दछ। दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ।
लामो समयसम्म कुप्रिएर बस्न हुँदैन। प्रत्येक २० देखि ३० मिनटसम्म उठबस गर्ने र खुट्टा तन्काउने गर्नुपर्दछ। बस्दा डँडाल्नोलाई सिधा राखीसामान्य बसाई हुनुपर्दछ।
छोटो कुर्कुच्चा भएको र आरामदायक जुत्ता लगाउनुपर्दछ। अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो र असर पार्न सक्दछ। साथै तल्लोडँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ।
विशेषतः गर्भावस्थामा र बच्चा जन्मिसकेपछि केही महीना लामो समयसम्म उभिनु हुँदैन।
लामो समय उभिएर गर्ने काम नगर्ने।
खानासँगै पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी लिने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।