पोखरा२३ चैत ०७४/ जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले उनीहरुलाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इन्जिनियर प्रदीपकुमार बानियाँ र सब-इन्जिनियर छबिन्ऽविक्रम खाँड छन् । मादी गाउँपालिका-८ स्थित नारायण आधारभूत विद्यालयको भवन निर्माणको बिल फर्छ्यौटमा १ लाख रुपैयाँको घुस लिँदै गर्दा पोखरा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरु पक्राउ परेका हुन् ।
‘विद्यालयको भवन निर्माण सम्पन्न भइसकेपछि भुक्तानी दिने क्रममा उनीहरुले घुस मागेका रहेछन्,’ आयोगका सूचना अधिकारी रमेश ढकालले भने ।उजुरीकै आधारमा चिप्लेढुंगाको एक रेस्टुरेन्टबाट उनीहरुलाई रंगेहात पक्राउ गरी अनुसन्धान थालिएको छ ।