0 COMMENTS

काठमाडौँ, २१ चैत ०७४/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताउनु भएको हो ।

बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौँ । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंग्याउन हामी लागिरहेका छौँ ।”

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौँ । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौँ ।”

भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।”

अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।